महिलालाई उद्यमशीलतासँग जोड्ने गरी काम गर्नु पर्छ : रचना खड्का 

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन २५ २०७९
  • तामाकोशी
रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य एवं जनवर्गीय सङ्गठन सह–इन्चार्ज रचना खड्काले ग्रास रुटका जनता र कार्यकर्ताले पार्टी र देशको राजनीतिलाई कसरी हेरिरहेको छ भनेर बुझ्न पार्टीले मिसन ग्रास रुट अभियान चलाएको बताउनुभएको छ । नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले बुधवार ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजना गरेको सामाजिक सुरक्षा सहित महिला सशक्तीकरण र उद्यमशीलता विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मिसन ग्रास रुट अभियानमा धेरै भन्दा धेरै महिलालाई पार्टी सदस्य बनाउनु पर्नेमा उहाँको जोड छ । त्यसो गर्न सकियो भने पार्टी मार्फत महिलालाई हस्तक्षेपकारी भूमिकामा पु¥याउन सकिने खड्काले बताउनुभयो ।अब कसैलाई दोष लगाएर कसैले उन्मुक्ति नपाउने बताउनुभएको छ । खड्काले हिजो आन्दोलनको बेलामा राजनीतिक दल विरोध गर्ने ठाउँमा भए पनि अब हिजो उठाएका कुरा कार्यान्वयन गर्ने ठाउँमा रहेका बताउनुभयो । अब गर्नुपर्ने ठाउँमा भएकोले अध्ययन र विश्लेषण गरेर महिलाको समस्या समाधानको लागि काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । महिलालाई उद्यमशीलतासँग जोड्ने गरी काम गर्नु पर्ने उहाँले बताउनुभयो । समयले ल्याएको प्रविधिलाई जीवनसँग जोड्न सक्नु पर्ने उहाँको भनाइ छ । सम्पर्क मञ्च महिला विभागले आयोजना गरेको कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सदस्य गीता कार्की, सम्पर्क समन्वय सचिवालय सदस्य सरिता दाहाल, वाग्मती सह–इन्चार्ज मोहन केसी, समन्वय कमिटी सदस्य लक्ष्मी न्यौपाने, प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशोककुमार ठकुरी सचिवालय सदस्य बद्रीकुमार भण्डारी, इन्चार्ज टेकबहादुर श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, देवु बस्नेत, मखमली श्रेष्ठ, सुस्मिता कार्की, सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठ, सचिव रवीन्द्र भण्डारी लगायतको सहभागिता रहेको थियो । महिला विभाग प्रमुख गीता श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।