समाज परिवर्तन गर्न सत्तामा रहनेको सोच र कार्यशैलीमा परिवर्तन आउनुपर्छ : सांसद श्रेष्ठ

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन १८ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापका अध्यक्ष तथा वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले समाज परिवर्तनको लागि राज्य सत्तामा रहनेको सोच र कार्यशैलीमा परिवर्तन आउनु पर्ने बताउनुभएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको ११ औँ साधारण सभा तथा जिल्ला भेलालाई बिहीबार मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले विगतमा राज्य सत्ताले गरेको व्यवहारकै कारण विभिन्न समुदाय र महिला पछि पारिएको बताउनुभयो । राज्य र त्यसको संरचनालाई एकै पटक परिवर्तन गर्न नसकिने पनि श्रेष्ठले बताउनुभयो । राज्य सत्ता र त्यसको संरचना परिवर्तन समाज परिवर्तनसँग जोडिने विषय भएको उहाँले प्रष्ट पार्नुभयो । नेपाली समाज पुरानो संरचनालाई तोडेर बिस्तारै अघि बढेको उहाँले बताउनुभयो । अहिले पनि पितृ सत्ता र उपल्लो जातीय सोच समाजका हरेक क्षेत्र र वर्गमा यथावत् नै रहेको उहाँले बताउनुभयो । यसर्थ भाषा, शैली, व्यवहार हरेक क्षेत्रमा परिवर्तन आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । समस्यालाई बेहोर्न सक्ने र समस्यासँग जुध्न सक्ने मानिस मात्र समाज रूपान्तरणको काममा लाग्ने सक्ने पनि उहाँले बताउनुभयो ।