एमालेको ‘मिसन ग्रासरुट’ अभियान : रामेछापमा तीन नेता खटिए

  • प्रकाशित मिति: बुधबार, फाल्गुन ३ २०७९
  • तामाकोशी

रामेछाप । सत्ता साझेदार नेकपा एमालेले रामेछापमा पार्टी संगठन विस्तारका लागि मिसन ग्रासरुट अभियान चलाउन तीन जना नेतालाई खटाएको छ । दुई नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापमा यो अभियानका लागि एमालेले तीन जना केन्द्रीय नेताहरुलाई खटाएको हो । अभियान सञ्चालनका लागि जिल्लाको दोरम्बा सैलुङ गाउँपालिका, सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकामा केन्द्रीय सदस्य कपिलदेव पोखरेलले खटिनुभएको छ । गोकुलगंगा गाउँपालिका, लिखुतामाकोशी गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा कृष्णप्रसाद दाहाललाई खटाएको छ । यस्तै जिल्लाको मन्थली नगरपालिका र रामेछाप नगरपालिकामा निरु दर्लामीलाई खटाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन ५ गते भर्चुअल माध्यमबाट देशभरका सबै पालिकामा एकैसाथ ग्रासरुट अभियानको उद्घाटन गर्ने एमाले रामेछापका उपसचिव प्रकाश कुमार कार्कीले बताउनुभयो । यो अभियानमा रामेछापका पालिकास्तरमा खटिएका नेताहरूले संगठनदेखि जनप्रतिनिधि र पार्टीबीच सम्बन्ध सुधारका लागि सुझाव संकलन गर्ने उहाँले बताउनुभयो । अभियानका क्रममा पार्टी सदस्यको सदस्यता नवीकरण, प्रशिक्षण लायतका कार्यक्रम पनि सञ्चालन गरिने उहाँले बताउनुभयो । एमालेको ग्रासरुट अभियानका लागि अभिमुखीकरण गर्न रामेछापबाट केन्द्रीय सदस्य बनेका नेताहरुलाई पनि जिम्मेवारी दिएर विभिन्न जिल्ला खटाएको छ ।