रामेछाप । नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को बागमती प्रदेश कमिटीको बैठक रामेछापमा बसेको छ । अनेरास्ववियुको केन्द्रीय महाधिवेशनको पूर्व सन्ध्यामा बागमती प्रदेश कमिटीको चौथो पूर्ण बैठक ‘तीन लाल’को भूमिका रूपमा परिचित रामेछापमा बसेको हो । प्रदेश कमिटी अध्यक्ष सन्तोष राणा क्षेत्रीको अध्यक्षतामा र अनेरास्ववियुका उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज उमेश आचार्यको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकमा बागमती प्रदेशका १० वटा जिल्लाबाट विद्यार्थी नेताहरू सहभागी भएका थिए । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज सागरहरि अधिकारीका अनुसार महाधिवेशन सफल पार्न सबै जिल्लामा प्रचार प्रसारको कामलाई तीव्रता दिने निर्णय पनि बैठकले गरेको छ । उद्घाटन समारोहलाई भव्य बनाउन बागमती प्रदेशका सबै जिल्लाबाट विद्यार्थीहरूलाई सहभागी गराउने निर्णय पनि बैठकले गरेको छ । सोही बैठकले बागमती प्रदेश कमिटीबाट महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिको समेत सिफारिस गरेको छ । बैठकले केन्द्रीय महाधिवेशन स्वच्छ रूपमा सम्पन्न हुने र यसका लागि बागमती प्रदेश कमिटी आफ्नो योगदान दिन तयार रहेको जनाउँदै महाधिवेशन पश्चात् एकताबद्ध अनेरास्ववियु निर्माण गरी सङ्गठनलाई शैक्षिक र सामाजिक मुद्दाहरूमा केन्द्रित गर्नुपर्ने विषयमा पनि छलफल गरी आवश्यक निर्णयहरू गरिएको अधिकारीले जानकारी दिनुभयो । आफ्नो चौथो पूर्ण बैठकका लागि रामेछाप आएका अखिलका विद्यार्थी नेताहरूलाई एमाले बागमती प्रदेश कमिटी सदस्यसमेत रहेका मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले जिल्लामा स्वागत गर्नुभएको थियो । करिब ७ वर्ष पछि अनेरास्ववियुको महाधिवेशन हुँदै छ । फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ ।

