रामेछाप । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धनबिच भएको समझदारीमा तल माथि नहुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल रामेछापले सदरमुकाम मन्थलीमा बुधवार गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव विष्टले गठबन्धनमा कुनै समस्या पैदा हुने सम्भावना नै नरहेको समेत बताउनुभयो । ‘पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दा कै बखत राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायतका संवैधानिक पदहरूमा कुन पार्टीले जिम्मेवारी लिने भन्ने कुरा उच्च तहमा टुङ्गी सकेको छ, राजनीतिमा यस प्रकारका समझदारीहरूको अर्थ रहन्छ’, उहाँले भन्नुभयो । जसले जे भने पनि अहिलेको सत्ता गठबन्धनबिच भएको समझदारीमा तलमाथि हुने र राजनीतिक अस्थिरता देखा पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘‘एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री प्रचण्ड सहितका केही अन्य पार्टीका नेताहरूका बिचमा भएको समझदारी विपरीत तल माथि हुने, सत्ता गठबन्धनमा समस्या पैदा हुने, राजनीतिक अस्थिरता पैदा हुने सम्भावना देख्दिन ।’’अहिलेको गठबन्धन सरकारको मुख्य उद्देश्य भनेको जनताको अपेक्षाहरूलाई पुरा गर्दै जनताको जीवन स्तरलाई माथि उठाउनु भएको उहाँले बताउनुभयो । ‘यो सरकार देश र जनताको हितलाई शिरमा राखेर अगाडी बढ्ने कुरा महत्त्वपूर्ण हो, नेकपा एमालेले देशको स्वार्थ, जनताको स्वार्थ अनि देश र जनताको हितलाई नै प्रमुखता ठानेको छ’, उहाँले भन्नुभयो । प्रतिपक्ष दल नेपाली काँग्रेसले एमालेले समर्थन गरेको प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गौरवको कुरा भए पनि काँग्रेसले दिएको विश्वासको मतको औचित्य काँग्रेसभित्रै खोजी भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘प्रधानमन्त्रीलाई पर्याप्त बहुमतको आधार हुँदा हुँदै नेपाली काँग्रेसले जुन ढङ्गले विश्वासको मत प्रदान गरेको छ । त्यसको औचित्य जनतामा प्रस्ट पर्नुपर्छ भन्ने नेपाली काँग्रेसमै प्रश्न उठेको छ।’’