मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराज जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मङ्गलवार भएको मतदानमा मुख्यमन्त्री जम्कट्टेललाई प्रदेश सभामा रहेका एक सय १० जना सांसदमध्ये एक सय पाँच जना सांसदले विश्वासको मत दिएका हुन् । उहाँलाई नेपाली कांग्रेससहितका दलहरूले विश्वासको मत दिएका हुन् । सङ्घीय सरकारलाई विश्वासको मत दिएर आलोचित भएको नेपाली कांग्रेसले बाग्मती प्रदेशमा पनि नेकपा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री बन्नुभएका शालिकराम जम्कट्टेलाई विश्वासको मत दिएको हो । यस प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल रहेकोमा उसका ३७ जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा एक सय पाँच जना सांसदले मत दिएका थिए भने विपक्षमा तीन जना सांसदले मत दिए । एक जना सांसद अनुपस्थित हुँदा सभामुख तटस्थ रहनुभएको थियो । नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्कट्टेललाई कांग्रेसले समेत विश्वासको मत दिएको हो । जम्कट्टेलले कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १२, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई सांसद गरी एक सय पाँच जना सांसदको मत पाउनुभएको हो । उहाँको विपक्षमा नेमकिपाका तीन जना सांसदले मतदान गरे । एक सय सांसद रहेको प्रदेश सभामा विश्वासको मत पाउन ५६ सांसद भए पुग्थ्यो । प्रदेश सभा बैठकमा नेपाली कांग्रेसबाट बहादुरसिंह लामा, नेकपा एमालेबाट जगन्नाथ थपलिया, माओवादीबाट युवराज चौलागाईं, राप्रपाबाट कुमारी तामाङ, समाजवादीबाट कृष्ण शर्मा खनाल, नेमकिपाबाट सुरेन्द्रराज गोसाईं र हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्राचार्यले धारणा राख्नुभएको थियो । संसदीय दलको कार्यालय हेटौँडामा आज बसेको बैठकले निर्णय नै गरेर कांग्रेसका सबै सांसदले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका हुन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिनुभयो ।
बाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेससहितका १ सय ५ सांसदले दिए विश्वासको मत
- प्रकाशित मिति: मंगलबार, माघ ३ २०७९
- तामाकोशी