रामेछाप । आज पुस २७ गते पृथ्वीनारायण शाहको ३०१ औँ जन्म जयन्ती तथा एकता दिवस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रामेछापले पनि पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरी पृथ्वी जयन्ती मनाएको छ । सदरमुकाम मन्थली स्थित देवकोटा चोकमा पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण तथा सभा गरी राप्रपाले पृथ्वी जयन्ती मनाएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रामेछापका अध्यक्ष भरतसिंह वाइवाको अध्यक्षता र पार्टीका पूर्व केन्द्रीय सदस्य मणिराज तामाङको प्रमुख आतिथ्यतामा राप्रपाले कार्यक्रम गरेको हो । कार्यक्रममा राप्रपाका पूर्व केन्द्रीय सदस्य तामाङले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा पृथ्वीनारायण शाहले उपदेश दिनुभएको बताउनुभयो । नेपाल एकीकरणमा उहाँको योगदानलाई कतिपयले आलोचना गर्ने गरेको भए पनि पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको तामाङको भनाइ छ । राप्रपा रामेछापका अध्यक्ष वाइवाले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न पृथ्वीनारायण शाहले गरेको योगदानलाई भुल्न नहुने बताउनुभयो । नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले खेलेको भूमिका र योगदानलाई सम्झेर पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिनु उहाँप्रतिको सम्मान भएको अध्यक्ष वाइवाको भनाइ छ । पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा सरकारले बुधवार सार्वजनिक बिदा समेत दिएको छ ।
राप्रपा रामेछापले पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरी पृथ्वी जयन्ती मनायो
- प्रकाशित मिति: बुधबार, पुष २७ २०७९
- तामाकोशी