एमाले रामेछापले पालिका कमिटी र जनसङ्गठनसँग निर्वाचन समीक्षा गर्ने

  • प्रकाशित मिति: शुक्रबार, पुष २२ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापले जिल्लाका सबै पालिका कमिटी र जनसङ्गठनसँग प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा गर्ने भएको छ । पुस २० र २१ गते मन्थलीमा बसेको जिल्ला कमिटीको सातौँ पूर्ण बैठकले मङ्सिर ४ गते सम्पन्न निर्वाचनका बारेमा आठ वटै पालिका कमिटी र जनसङ्गठनसँग निर्वाचन समीक्षा गर्ने निर्णय गरेको एमाले रामेछापका उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश कुमार कार्कीले बताउनुभयो । जिल्ला कमिटीका अध्यक्ष आनन्द कुमार श्रेष्ठको अध्यक्षता र स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले निर्वाचनमा भएका उपलब्धि, कमीकमजोरीका बारेमा छलफल र समीक्षा गर्न आगामी माघ मसान्त भित्र सबै पालिका कमिटी र जनसङ्गठनहरूको बैठक सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकले अवधि पुगेका सबै जनसङ्गठनहरूको आगामी चैत महिनाभित्र अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको उपसचिव कार्कीले बताउनुभयो । उहाँका अनुसार बैठकले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक तर्फ लोकप्रिय मत प्राप्त गरी पहिलो दल बनेको भन्दै मतदाताहरूलाई धन्यवाद पनि दिएको छ । समानुपातिक निर्वाचन तर्फ प्रतिनिधिसभामा २८ हजार १५० र प्रदेशसभा तर्फ २८ हजार ५०४ मत प्राप्त गरी एमाले पहिलो दल बनेको भन्दै मतदाता तथा पार्टी सदस्य एवं शुभेच्छुकहरूलाई धन्यवाद पनि दिएको छ । बैठकले प्रदेश सभा निर्वाचनमा समानुपातिकबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका पार्टी अध्यक्ष श्रेष्ठ र बागमती प्रदेश कमिटी सदस्य माया कुमारी कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । बैठकले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण अनिवार्य गरिसक्ने निर्देशन दिँदै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको भेला तथा तथा प्रशिक्षण आगामी माघ महिना भित्र सक्ने र पार्टी विरोधी गतिविधिमा लागेका, पार्टी छोडेका र पार्टीले निष्कासन गरेकाहरूको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय पनि गरेको उपसचिव कार्कीले बताउनुभयो । बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बारेमा महत्त्वपूर्ण छलफल तथा समीक्षा गरी पार्टी कार्यालयका तर्फबाट अध्यक्ष आनन्द श्रेष्ठले प्रस्तुत गर्नुभएको निर्वाचन समीक्षा प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।

यस्ता छन् बैठकले गरेको निर्णयहरु