नवराज विश्वकर्मा
रामेछाप । प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका रामेछापका एक बद्नाम निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ(कान्छाराम) चुनावी अभियानमा व्यस्त छन् । ‘कान्छाराम’ निर्माण व्यवसायको क्षेत्रमा एकपछि अर्को बदनामी कमाउँदै आएका निर्माण व्यवसायी हुन् । उनी हाल नेपाली काँग्रेसका सभापति छन् । यसअघिको निर्वाचनमा नेकपा एमाले–नेकपा माओवादी केन्द्र बिच भएको गठबन्धनको तर्फबाट बनेका उम्मेदवार प्रतिनिधि सभा सदस्य श्याम कुमार श्रेष्ठसँग पराजित व्यहोरेका कान्छाराम यस पटकको आसन्न सङ्घीय र प्रदेश निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनतर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन् ।
अहिले माओवादीसँगको सहकार्यका कारण कान्छारामलाई बलियो उम्मेदवारका रूपमा लिइएको छ । आगामी आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्य उम्मेद्वारहरुमा एमालेको तर्फबाट बागमती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल र गठबन्धनका तर्फबाट कान्छाराम छन् । प्रतिनिधि सभा सदस्य उम्मेदवार ढुङ्गेललाई पनि बलियो उम्मेदवारका रूपमा लिइन्छ भने कान्छारामलाई पनि बलियो उम्मेदवारकै रूपमा लिइन्छ ।
नागरिकले ढुङ्गेललाई प्रदेश अर्थमन्त्री हुँदा जिल्लाको सबै क्षेत्रलाई समेटेर विकास गरेनन् भनेर आरोप लगाउने गर्दछन् । चुनावी अभियानको क्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार कैलाश ढुङ्गेल हिजो गरेका कमजोरी सच्याएर साफा नाफा तिर्ने गरी काम गर्छु भनिरहेका छन् भने कान्छाराम भने निर्वाचन आचारसंहिता विपरीत तपाईँहरू बिरामी हुँदा मेरो व्यक्तिगत हेलिकोप्टरमार्फत काठमाडौँ लगेर उपचार गरिदिन्छु मलाई भोट दिनुस्, नातागोता, इष्टमित्र कुटुम्बलाई पनि यो कुरा सुनाइ दिनुस् भनेर प्रभावित पार्ने कोसिस गरिरहेका छन् ।
जिल्लाका नागरिकले एउटा व्यक्तिको निजि सम्पत्तिको पछि लागेर व्यक्तिबाट लाभ लिन चाहलान् कि जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माण, गुणस्तरीय शिक्षा, महँगी नियन्त्रण, उत्पादनमुखी विकास, बाझिँदो अवस्थामा रहेका भूमिको उपयोग गराउने गरी नीति निर्माण गर्ने नेतृत्वचाहलान् ? भन्ने कुरा त मतदाताको विवेकमै भर पर्नेछ । नागरिकले बदनामी कमाएका निर्माण व्यवसायीलार्ई रोज्छन् या एकलौटी आफ्नो क्षेत्रमा मात्रै विकास गरेको भनेर आरोप खेपिरहेका ढुङ्गेललाई रोज्लान् ? त्यो त मङ्सिर ४ पछि नै थाहा हुनेछ ।
कान्छाराम–सङ्कर मणि जेभीलाई जुनसुकै समयमा ठेक्का तोडी कालोसूचीमा राखिने
रामेछापमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका कान्छारामको निर्माण व्यवसायी कम्पनी (कान्छाराम–सङ्कर मणि)ले कूल ११ करोड ६४ लाख १२ हजार ६५३ रुपैयाँको लागतमा निर्माण गर्ने गरी दाङको घोराही क्षेत्र लमही तुलसीपुर सडक विस्तारको सम्झौता गरी जिम्मा लिएको थियो । उक्त सडक विस्तारको काम वि.सं. २०७१ भदौ ११ गते सुरु गरी २०७२ असोज ३० गते सम्पन्न गरिसक्ने गरी सम्झौता गरेको थियो । त्यस सडक विस्तारको काम समयमा सम्पन्न नभएपछि कान्छारामको निर्माण कम्पनीले पटक–पटक गरी चार पटक म्याद थप गरिसकेको छ । चौथो पटक २०७७ ज्येष्ठ २३ गते सम्पन्न गर्ने गरी म्याद थप भएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर रिकेश महर्जनले जानकारी दिनुभयो । विभिन्न समयमा थप गरिएका म्याद गुज्रिए पनि हालसम्म सडक विस्तारको काम सुरु हुन नसकेको उहाँले बताउनुभयो ।
यसरी समयमा कामले गति लिन नसकेपछि सडक डिभिजन कार्यालय दाङले ठेक्का लिएर समयमा काम नगरेको भन्दै कान्छाराम–शङ्करमणी जेभीसँग जुनसुकै समयमा ठेक्का तोडी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने सूचना जारी गरेको छ । सडक डिभिजन दाङले २०७९ असोज १४ गते एक सूचना जारी गरेर यस्तो सूचना जारी गरेको थियो । यस डिभिजन अन्तर्गत ठेक्का व्यवस्थापन भई निर्माण कार्य अघि बढाइएको लुम्बीनी जलजला जेभी निर्माण कम्पनी र कान्छाराम शंकरमणी जेभी निर्माण कम्पनीले सम्झौता बमोजिमको निर्माण कार्य समयमै सम्पन्न हुन नसकेको तथा सम्पन्न गर्न अग्रसर नदेखाएको र कार्य सम्पन्न गर्ने सम्बन्धमा यस डिभिजनबाट दिइएका ध्यानकर्षण पत्र र निर्देशनहरु पटक–पटक उल्लङ्घन गरेको जारी सूचनामा भनिएको छ । यस्तै बिगत ६ महिनादेखि निर्माण स्थलनमा उपस्थित नभएको पाइएको समेत जारी सूचनामा उल्लेख छ । त्यसकारण सम्झौताको GCC clause को १६.१ अनुसार कार्य सम्पन्न गर्न सूचना प्रकाशित मितिले १५ दिनभित्र कार्य सुरु गरी निर्माण स्थलमा देखिएका त्रुटिहरु सच्याइ छिटोभन्दा छिटो कार्य सुरु गर्न सडक डिभिजन कार्यालय दाङले निर्देशन दिएको थियो ।
समयमा त्रुटि नसच्याई निर्माण कार्य सम्पन्न गर्ने गरी काम अघि नबढाएमा सम्झौताको GCC clause को ५७.२ को termination by the Employer को व्यस्था अनुसार जुनसुकै समयमा ठेक्का तोडी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने छ, जारी सूचनामा भनिएको छ ।
लुम्बिनी–जलजला जेभी निर्माण कम्पनीले दाङको घोराही–कमिरेचौर–प्युठान सडक स्तरोन्नतिको कामको जिम्मा लिएको थियो । लुम्बिनी–जलजला जेभी निर्माण कम्पनीले यो सडक निर्माणको कार्य पनि अहिले अलपत्र अवस्थामा छ । हालसम्म एक पटक म्याद थप भएको बताइएको छ । निर्माणको जिम्मा लिएका यी दुवै कम्पनीका प्रतिनिधि अहिले सम्पर्कमा आए पनि अहिलेसम्म सडक योजनाको कुनै काम सुरु नगरेका सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इञ्जिनियर रिकेश महर्जनले बताए । यता, रामेछापको चिसापानी–पुरानागाउँ सडक आयोजनाको काम पनि सम्झौता बमोजिम गर्न नसकेका स्थानीयले बताएका छन् ।