एमाले सरकार बनेको पहिलो बजेटमा सामाजिक सुरक्षा भत्ता पाँच हजार घोषणा गरिन्छ : माधव ढुङ्गेल

  • प्रकाशित मिति: मंगलबार, कार्तिक १५ २०७९
  • तामाकोशी

धोबि । नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले प्रचण्डले नक्कली एकता गरेको कारण नेकपा जोगिन नसकेको बताउनुभएको छ ।
नेकपा एमाले रामेछापले मंगलबार रामेछापको धोबी बजारमा आयोजना गरेको चुनावी सभामा बोल्दै नेता ढुङ्गेलले केपी ओलीको सफल मिर्गौला प्रत्यारोपण भए लगत्तै प्रचण्ड पार्टी फुटाउने खेलमा लागेको बताउनुभयो । त्यसैले अहिले एमाले एक्लै सरकार बनाएर राजनीतिक स्थायित्वको एजेण्डा बोकेर चुनावमा आएको बताउनुभयो । ‘एमाले राजनीति स्थायित्व, सुशासन र समृद्धि दिन चाहन्छ’, उहाँले भन्नुभयो ।
एमालेले अगाडि सारेको मुद्दा नै राजनीति स्थिरता, सुशासन, आर्थिक विकास र समृद्धि भएको ढुङ्गेलले प्रस्ट्याउनुभयो । एमालेकै प्रयासले गाउँ गाउँमा पैसा आएको बताउँदै ढुङ्गेलले त्यसको सदुपयोग गर्नेको हातमा पैसा पुग्नु पर्ने बताउनुभयो ।
राष्ट्रिय स्वाधीनता र स्वाभिमानको मुद्दा एमालेको अर्को मुद्दा भएको उहाँले बताउनुभयो । केपी ओलीले भारतसँग औला ठड्याएर आफ्नो भूमि समेटिएको नक्सा सार्वजनिक गरेको उहाँले बताउनुभयो । ‘त्यो आँट गर्ने केपी ओली जस्तो नेता एमालेले जन्माएको हो’, उहाँले भन्नुभयो ।
एमालेले ल्याएको सामाजिक सुरक्षाको मुद्दा विश्वकै उत्कृष्ट र नागरिक मैत्री भएको उहाँले बताउनुभयो । एमालेले मासिक पाँच हजार पुर्‍याउन लागेको सामाजिक सुरक्षा भत्ता गठबन्धन सरकारले रोकेको उहाँको भनाइ छ । ‘एमाले सरकार बनेको पहिलो बजेटमा सामाजिक सुरक्षा भत्ता पाँच हजार घोषणा गरिन्छ’, ढुङ्गेलले भन्नुभयो ।
विदेश जाने युवालाई देशमा नै रोक्ने एमालेको अर्को लक्ष रहेको उहाँले बताउनुभयो । त्यसका लागि गाउँमा नै रोजगारी सिर्जना गर्न जरुरी रहेको उहाँले प्रष्ट पार्नुभयो ।
ढुङ्गेलले कांग्रेले बीपी कोइरालालाले लिएको समाजवाद छाडिसकेको बताउनुभयो । त्यस्तै प्रचण्डले कम्युनिष्ट आदर्श छाडिसकेको पनि उहाँले बताउनुभयो । ‘शेरबहादुर देउवाले बीपीको समाजवाद छाडिसक्नुभयो, प्रचण्डले त म कांग्रेस भइसकेँ नै भनिसक्नुभयो’, ढुङ्गेलले भन्नुभयो ।