रामेछाप । नेकपा एमाले रामेछापको प्रतिनिधि सभाका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले जिल्लाको सबैभन्दा दुर्गम गाउँ गौश्वाराबाट वृहत् भेटघाट तथा घरदैलो अभियान सुरु गर्नुभएको छ । तिहार अघि पार्टीको आन्तरिक छलफल तथा भेटघाटमा केन्द्रित रहेको रामेछाप एमाले भाइटीकाको भोलिपल्टबाट भने वृहत् भेटघाट र घरदैलो अभियानमा लागेको छ । यस अघि रामेछाप एमालेले जिल्लाका सबै पालिकामा वृहत् कार्यकर्ता भेला आयोजना गरेको थियो । उम्मेदवारहरूले केही स्थानमा मतदातासँग भेटघाट र घरदैलो समेत गर्नुभएको थियो । शुक्रबार साँझ दोरम्बा शैलुङ गाउँपालिका पुगेको एमालेको चुनावी टोली साँझबाट भेटघाट र घरदैलो अभियान सुरु गरेको राष्ट्रिय युवा संघ नेपाल रामेछापका अध्यक्ष गणेश बज्र लामाले जानकारी दिनुभयो । शुक्रबार साँझ गौश्वारा पुग्दा एमालेको टोलीलाई स्थानीयले भव्य स्वागत गरेका थिए ।
टोलीमा प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेल, प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी, एमालेको तर्फबाट प्रदेश सभा ख का उम्मेदवार मिलनकुमार घिसिङ, एमाले जिल्ला कमिटी तथा पालिका कमिटीका नेताहरू, जन वर्गीय संगठनका नेताहरू लगायतको सहभागिता रहेको छ । निर्वाचन प्रचार टोलीले स्थानीयको घर घरमा तथा टोल टोलमा भेटघाट गर्ने, स्थानीयको सल्लाह, सुझाव र गुनासो सुन्ने र मतदातासँग आसिरवाद लिने कार्यक्रम रहेको लामाले जानकारी दिनुभयो । स्थानीयसँगको भेटघाटमा प्रतिनिधि सभा सदस्य उम्मेदवार कैलाश ढुङ्गेलले विगतको निर्वाचनमा गौश्वाराले कम्युनिष्ट पार्टीमा गरेको योगदान आफूले नबिर्सिएको बताउनुभयो । यस पटकको निर्वाचनमा पनि कम्युनिष्ट पार्टीको मूलधार नेकपा एमालेका उम्मेदवारलाई जिताउन गौश्वाराले योगदान गर्ने ढुङ्गेलले विश्वास व्यक्त गर्नुभयो ।
रामेछाप एमालेको गौश्वाराबाट वृहत् भेटघाट तथा घरदैलो अभियान सुरु
- प्रकाशित मिति: शनिबार, कार्तिक १२ २०७९
- तामाकोशी