रामेछाप । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन आउन अब ३० दिन मात्रै बाँकी छ । यो निर्वाचनलाई महानिर्वाचनको महासङ्ग्राम मानेर यति बेला रामेछापमा उम्मेदवर र राजनीतिक दलहरू आआफ्ना चुनावी कार्यक्रममा व्यस्त छन् ।
जिल्लामा विशेष गरी नेपाली काँग्रेस र माओवादी गठबन्धन र नेकपा एमालेका उम्मेदवार बिचमै कडा प्रतिस्पर्धा हुने देखिएको छ । अहिले यी दुई वटा दलका उम्मेदवारहरू आफ्ना विभिन्न एजेन्डाहरू सुनाउँदै मतदाता भेटघाटमा छन् ।
नेकपा एमालेका प्रतिनिधिसभा सदस्य र दुवै प्रदेशसभा सदस्यका उम्मेदवार मतदातासँग भेटघाट गर्न घर दैलो कार्यक्रममा व्यस्त रहेको एमाले रामेछापका उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाशकुमार कार्कीले बताउनुभयो । ‘एमालेका प्रतिनिधिसभा सदस्य कैलाश प्रसाद ढुङ्गेल र प्रदेशसभा ख का उम्मेदवार रामेछाप प्रदेशसभा ख को रामेछाप नगरपालिका अन्तरगतका विभिन्न वडाहरूमा कोणसभा तथा घर दैलो कार्यक्रममा हुनुहुन्छ’, उहाँले भन्नुभयो । उहाँका अनुसार प्रदेशसभा ख का उम्मेदवार मिलनकुमार घिसिङ मन्थली नगरपालिकाको विभिन्न वडाका मतदाताहरूसँग भेटघाटमा हुनुहुन्छ ।
यस्तै, नेपाली काँग्रेस र माओवादी गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेशसभा क का उम्मेदवार तारानारायण श्रेष्ठ प्रदेशसभा क अन्तरगत उमाकुण्ड गाउँपालिकामा वडा स्तरका कार्यकर्ता भेटघाट तथा घर दैलो अभियानमा हुनुहुन्छ । तामाङ नेपाली काँग्रेस र श्रेष्ठ माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएको हो ।
त्यसै गरी गठबन्धनका प्रदेशसभा ख का उम्मेदवार युवराज चौलागाई दोरम्बा सैलुङ गाउँपालिकाको विभिन्न वडामा वडा स्तरका कार्यकर्ता भेटघाट तथा घर दैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ । चौलागाई नेकपा माओवादी केन्द्रबाट उम्मेदवार हुनुहुन्छ ।
चुनावी अभियानमा लगेका एमालेका उम्मेदवारहरूले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार बनाउने र गठबन्धनका उम्मेदवारहरूले नेपाली काँग्रेस र नेकपा माओवादीको नेतृत्वमा देशमा भएका ठुलठुला परिवर्तन भएकाले अब देश विकासको लागि पनि गठबन्धन आवश्यक रहेको जनतालाई सुझाइरहेका छन् ।
मतदातासँग भोट माग्न घर दैलो अभियानमा उम्मेदवार
- प्रकाशित मिति: शुक्रबार, कार्तिक ४ २०७९
- तामाकोशी