नेपालकै अग्लो डान्सिङ गणेश मूर्तिले आन्तरिक पर्यटकको चहलपहल बढ्यो

  • प्रकाशित मिति: आइतबार, असोज १६ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको रामेछाप नगरपालिका–८ स्थित डुकुरसिं डाँडामा २१ फिट अग्लो डान्सिङ गणेशको मूर्ति निर्माण गरिएको छ । जसका कारण यहाँ आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ । जिल्ला सदरमुकाम मन्थली तथा पुराना सदरमुकाम रामेछापको बीचमा पर्ने यो स्थान पछिल्लो समय मन्थलीबाट रामेछाप घुम्न जानेको लागि यो उचित भ्रमणस्थल बन्दै गएको छ । डुकुरसिं डाँडामा बनेको डान्सिङ गणेशको यो मूर्ति २१ फिट अग्लो रहेको र यो नेपालकै अग्लो डान्सिङ गणेशको मूर्ति भएको स्थानीय लेखबहादुर विकले दाबी गर्नुभयो । प्रचार प्रसार र संरक्षणको अभावमा पर्यटन विकासको ठुलो सम्भावना बोकेको डुकुरसिं डाँडामा यो गणेशको मूर्ति निर्माण भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको उहाँले बताउनुभयो । ‘डुकुरसिं डाँडा विशेष गरी डान्सिङ गणेश मूर्तिमा फोटो खिच्न, टिकटक बनाउने युवा युवतीहरूको रोजाइमा पर्ने गरेको छ, यहाँ परिवारनै घुम्न आउनेहरू पनि बढेका छन्’, उहाँले भन्नुभयो ।
पुरानो जिल्ला सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकाको पर्यटन विकासको ठुलो सम्भावना रहेको डुकुरसिं डाँडालाई थप मनोरम बनाउने उद्देश्यले माला गिरी विकास सेवा समितिले २१ फिट अग्लो डान्सीङ गणेशको मूर्ति निर्माण गरेको स्थानीय बद्रीप्रसाद घिमिरेले बताउनुभयो । ‘डुकुरसिं डाँडामा नेपालकै अग्लो डान्सिङ गणेशको मूर्ति निर्माण भएको छ यो राम्रो कुरा हो, तर डुकुरसिं डाँडा पर्यटकीय हिसाबले ब्यापक सम्भावना हुँदा हुँदै पनि ओझेलमा छ’, उहाँले भन्नुभयो ।
डुकुरसिं डाँडालाई स्थानीय सरकारले आफ्नो सम्पत्तिका रुपमा लिएर आवश्यक पूर्वाधार विकास गर्नुपर्ने भएपनि यसमा ध्यान नदिएको उहाँको भनाइ छ । रामेछाप नगरपालिकाले डुकुरसिं डाँडा र यो डाँडामा निर्माण भएको २१ फिट अग्लो गणेश मूर्तिलाई पर्यटन विकाससँग जोडेर काम गर्ने रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले बताउनुभयो । ‘डुकुरसिं डाँडाको आवश्यक प्रचार प्रसार गरी आन्तरिक र बाह्य पर्यटकहरूको आवागमन बढाउन आवश्यक पूर्वाधार विकासमा नगरपालिका लाग्छ’, उहाँले भन्नुभयो ।