संरक्षण र प्रचारको पर्खाइमा रामेछापको डुकुरसिं महादेव

  • प्रकाशित मिति: शनिबार, असोज १५ २०७९
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ बाबियाखर्क डाँडामा रहेको डुकुरसिं महादेव प्रचारप्रसारको अभावमा ओझेलमा छ । धार्मिक र ऐतिहासिक र पर्यटकीय तीर्थस्थल डकुरसिं महादेवथान बाबियाखर्क डाँडाको टेम्पोमा जङ्गलभित्र छ । जहाँ गाईको खुरको आकारमा महादेवको शिला छ । अङ्ग्रेजको नेपाली माथिको आक्रमण रोक्न सिन्धुली गढीमा नेपाली फौजको लडाईँ चल्दा यो स्थानमा सेनाको एउटा टुकडी ब्याक फोर्सको रुपमा बसेको र अर्को टुकडी रामेछापकै चिसापानी गढीमा ब्याक फोर्सको रुपमा बसेको थियो भन्ने ऐतिहासिक तथ्य रहेको स्थानीय बद्रीप्रसाद घिमिरे बताउनुहुन्छ ।
सेनाको टोली त्यहाँ बस्दा डकुरसिं महादेवको आराधना गरी शक्ति प्राप्त गरेको भन्ने विश्वास छ, यो महादेवस्थानलाई शक्तिका महादेव मान्ने गरिन्छ, टाढासम्मको दृश्य देखिने भएकोले पनि यो स्थानलाई सेनाले गढीको रुपमा प्रयोग गरेका थिए भन्ने छ उहाँले बताउनुभयो ।
लामो समयसम्म पानी नपर्दा स्थानीय मिलेर सो महादेवस्थानमा रुद्री लगाउँदा त्यही दिन पानी पर्छ भन्ने विश्वास छ । डुकुरसिं महादेवस्थानमा रुद्री लगाएको दिन सानो ठूलो पानी पर्ने गरेकाले यो महादेवस्थान प्रति अगाध विश्वास रहको अर्का स्थानीय हरिकुमार कार्की बताउनुहुन्छ । महादेव मन्दिरको आसपासका गाउँका मानिसहरू बस्तुलाई राम्रो होस भनी सो स्थानमा दुध चढाउन पुग्छन् । त्यहाँ भाकल गरेर दूध चढाउँदा गाई समयमा ब्याउने तथा गाईको बाँझोपन हराउने स्थानीयको विश्वास छ । त्यस्तै गाईले राम्रो बाच्छाबाच्छी जन्माउँछ भन्ने पनि स्थानीयमा विश्वास छ । यो स्थान धार्मिक र ऐतिहासिक रूपले मात्र होइन पर्यटकीय हिसाबले पनि त्यतिकै महत्वको छ । जिल्ला सदरमुकाम मन्थली तथा पुराना सदरमुकाम रामेछापको बीचमा पर्ने यो स्थानमा मन्थलीबाट रामेछाप घुम्न जानेको लागि यो उचित भ्रमणस्थल बन्नसक्छ । डुकुरसिं डाँडामा जान मलयागिरीसम्म सडक बाटो बनेको छ । त्यहाँबाट महादेवस्थानमा पुग्नको लागि सिँढी हालिएको छ ।
रामेछाप नगरपालिकाले नगरभित्र रहेका पर्यटकीय स्थलहरूको पहिचान गरी पर्यटन पूर्वाधार विकासको कामलाई जोड दिएको रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले बताउनुभयो । रामेछाप नगरपालिकाले डुकुरसिं महादेवलाई सम्पत्तिका रुपमा लिएको छ, यसको आवश्यक प्रचार प्रसार गरी आन्तरिक र बाह्य पर्यटकहरूको आवागमन बढाउन आवश्यक विकास निर्माणको प्रक्रिया अगाडि बढाउँछौँ उहाँले भन्नुभयो ।