आँखा नदेख्ने चमेली मगर : जसको काँधमा सात छोरीको लालनपालन र पठनपाठन

  • प्रकाशित मिति: आइतबार, भाद्र १९ २०७९
  • तामाकोशी

विनोद कुमार श्रेष्ठ

रामेछाप । जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँकी ४० वर्षिया चमेली मगरले आँखा देख्न छोड्नु भएको १५ वर्ष भयो । उहाँका दुवै आँखा बन्द छन् । ठप्पै देख्नुहुन्न् ।
आँखा नदेखेर के गर्नु सिंगो परिवार पाल्नु पर्ने बोझले उहाँलाई थिचेको छ । छोरीहरूलाई पढाउने, घर व्यवहार धान्ने सबै जिम्मा उहाँकै थाप्लोमा छ । आठवटी मध्ये सात वटी छोरीको लालन पालन, पठनपाठन सबै कुराको जिम्मा उहाँकै काँधमा छ ।
यस अघि पनि चमेलीको आँखामा समस्या नभएको भने होइन । सानै उमेरदेखि बारम्बार धमिलो देख्ने, टाढाको बस्तु नदेख्ने उहाँको समस्या थियो । तर १५ वर्ष अघि चौथो छोरी जन्मिएपछि भने चमेलीका दुवै आँखाका ज्वती पुरै गुमे । उहाँका आँखा बन्द भए । आँखा बन्द भएपछि पनि उहाँका थप चार छोरी जन्मिए ।
त्यसो त आँखाको उपचारका लागि चमेलीका श्रीमान अम्बरबहादुर ठाडामगरले आफ्नो बुताले भ्याएसम्म गर्नुभयो । थाहापाए सम्मका अस्पताल घुमाउनुभयो । ठाउँ ठाउँमा सञ्चाल हुने आँखा शिविरमा पनि पुर्याउनुभयो । तर काम लागेन । उहाँको आँखाको ज्वती फर्किएन ।
आँखा नदेख्ने समस्या त छँदैथियो । उहाँको जीवनमा अर्को बज्रपात पो भयो । जीवनको सहारा पतिलाई पनि उहाँले गुमाउनुभयो ।
श्रीमान् पनि गुमाएपछि संसार हेर्ने उहाँको इच्छा हरायो । साना छोरीहरूलाई कसरी हुर्काउने भन्ने चिन्ता थपियो । आँखा नदेख्ने चमेलीको काधमा आठ बहिनी छोरीहरूको लालनपालन र पठनपाठनको जिम्मेवारी आयो । ‘कलिला छोरीहरु, श्रीमान् पनि बित्नुभयो, उनीहरूलाई कसरी हुर्काउने, के गर्ने, के नगर्ने ? केही सोच्नै सकिँन‘, उहाँले भन्नुभयो ।
केही समय त छिमेकीहरुले सहयोग गरे । सँधै सहयोग गर्ने कुरा पनि भएन । सबैको आफ्नो व्यवहार हुने नै भयो । उहाँलाई छोरीहरूलाई खुवानै समस्या पर्न थाल्यो । अझ पढाउन लाग्ने थप खर्च त छँदै थियो ।
आफै पनि केही आम्दानी गर्छु भनेर उहाँ हाते काममा लाग्नुभयो । उहाँ मकैको खोस्टा तथा बिस्कुट अनि चाउचाउको प्लाष्टिकबाट चकटी बनाउन लाग्नुभयो । पराल तथा खरको डाला बुन्नु थाल्नुभयो । प्लाष्टिकको बाख्रा तथा भैँसी बाँध्ने दाम्लो, नाम्ले पनि बाट्न लाग्नुभयो ।
त्यसबाट केही आयआर्जन हुन लाग्यो । जसले खरखाँचो टार्न मिल्यो । ‘एउटा चकटी पूरा गर्न दुई दिन लाग्छ, डालो, नाम्लो, दाम्लो बाट्न पनि निकै मेहनत गर्नुपर्छ, चकटी, नाम्लो, दाम्लो सबै गाउँकै मान्छेले लान्छन्, त्यसबाट केही आम्दानी हुन्छ’, उहाँले भन्नुभयो ।
आँखा नदेख्ने भएपछि राज्यले सामाजिक सुरक्षा भत्ता पनि उपलब्ध गराएको छ । छोरीहरूको पढाइमा विभिन्न संस्थाले सहयो गरेका छन् । आठ वटी छोरी मध्ये जेठीको बिबाह भैसकेको छ । माइली र साईली जुम्ल्याहा हुन् । उनीहरु १२ कक्षामा पढ्छन् । काइली अठ कक्षामा, ठाइँली ६ कक्षामा, अन्तरी कक्षा पाँच, जन्तरी तीन कक्षा र कान्छी एक कक्षामा अध्ययनरत छन् ।
चमेली मगरले लामो समयदेखि दुबै आँखा देख्न छोडेको छिमेकी समेत रहनुभएका मन्थली नगरपालिका–९ पुरानागउँका वडा सदस्य रामबहादुर बताउनुहुन्छ । ‘चमेली मगरले दुबै आँखा देख्न छोडेको झण्डै १५ वर्ष भैसक्योहोला, अहिले राज्यले रातो कार्ड प्रदान गरी सामाजिक सुरक्षा भत्ता दिइरहेको छ, छामेको भरमा निकै राम्रा चकटी, डालो, नाम्लो दाम्लो पनि बनाउनुहुन्छ, त्यसबाट पनि धेर थोर आम्दानी गर्नुभएको छ’,उहाँले भन्नुभयो ।
श्रीमान वितेपछि चमेली मगरलाई केही वर्ष ठुलो समस्या भोग्नुभयो । अब विस्तार अतितलाई भुल्ने र वर्तमानमा रमाउने प्रयासमा हुनुहुन्छ । छोरीहरु पनि ठूला भए । घर बाहिरको खेतीपातिको काममा उनीहरुले सघाउँछन् । घर भित्र र वरिपरिको काम उहाँ आफै गर्नुहुन्छ । घर वरिपरिको घाँस काट्ने बस्तुलाई हाल्ने लगायतका काम आफै गर्नुहुन्छ । उहाँलाई अब अरु कुनै सहयोगको अपेक्षा छैन भयो भने अझै आँखाको उपचार लगाउने इच्छा छ । ‘कुनै उपाय लगाएर आँखा देख्न पाए हुन्थ्यो, कसैले यसमा चाहीँ सहयोग गरे हुन्थ्यो’, उहाँले भन्नुभयो ।