रामेछाप । ठुलो वर्षाको कारण आएको बाढी पहिरोले रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा दुईवाट ट्राउट माछा फार्ममा क्षति पुगेको छ । खहरेमा आएको लेदो सहितको बाढी पस्दा पोखरीमा रहेका माछा मरेका छन् । चुचुरेको चम्लाखोला नजिक कोप्ल्यान्ड रिसोटमा रहेको गौरी शंकर फिसरी फार्ममा ठुलो क्षति भएको सो गाउँपालिकाकी पूर्वउपाध्यक्ष राधिका श्रेष्ठले बताउनुभयो । सोही फार्म नजिकै रहेको सप्त भूमि ट्राउट माछा फार्ममा ठुलो क्षति पुगेको उहाँले जानकारी दिनुभयो । चिसो हावापानी भएको सो स्थापनमा किसानले व्यावसायिक रूपमा ट्राउट माछा पाल्न सुरु गरेका थिए । गौरी शंकर फिसरीका प्रोपाइटर देवकुमार तामाङका अनुसार बाढीले करिब २० हजार माछाका भुरालाई क्षति पु¥याएको छ । धमिलो पानीका कारण अधिकांश माछाका भुरा मरेका छन् । बाढीले ४० लाख बराबरको क्षति गरेको अनुमान गरिएको छ ।
बाढी पहिरोले चुचुरेका ट्राउट माछा फार्ममा क्षति
- प्रकाशित मिति: शनिबार, भाद्र ४ २०७९
- तामाकोशी