रामेछाप । जिल्लाको मन्थली नगरपालिकाको गौरवको आयोजना स्वीमिङ पुल सहितको तीनलाल स्मृति पर्यटकीय पार्क अझै सञ्चालनमा आउन सकेको छैन । मन्थली नगरपालिका वडा नं १ हाटेचौरमा गत आर्थिक वर्ष २०७७÷०७८ को भदौबाट निर्माण सुरु गरिएको यो पार्क कोरोनाका कारण थप गरिएको समय सहित गत चैतसम्म निर्माण सम्पन्न गर्ने र २०७९ बैशाख पहिलो हप्ताबाट सञ्चालन गर्ने नगरपालिकाको योजना थियो ।
तर निर्माण कम्पनीले समयमै काम नसक्दा यसअघिका मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले आफ्नो कार्यकालमा यो पार्क सञ्चालन गर्न सक्नुभएन । अहिले गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर नयाँ जनप्रतिनिधिहरु आइसकेका छन् । तर नगरपालिकाले गौरवको आयोजनाका रुपमा निर्माण गरिरहेको पार्क सञ्चालनमा नयाँ जनप्रतिनिधिहरुको खासै ध्यान गएको छैन ।
पार्कको करिव÷करिव काम सबै काम सकिएको भएपनि स्वीमिङ पुलको केही टेक्निकल काम र केही वाइरिङको काम बाँकी रहकोे मन्थली नगरपालिका प्राविधिक शाखाका प्रमुख डिल्ली अधिकारीले बताउनुभयो ।
उहाँले सबै काम सकेर पनि निर्माण कम्पनी पाँच पोखरी कन्ट्रक्शनले समान्य काम नसक्दा गत वर्षबाटै सञ्चालनमा आउनुपर्ने पार्क अझै सञ्चालन गर्न नसकिएको बताउनुभयो । दश करोड रुपियाँको अनुमानित लागत भएपनि छ करोड ८८ लाखमा रुपियाँमा पार्क निर्माण गर्ने गरी पाँच पोखरी कन्ट्रक्शनले ठेक्का लिएको थियो । यो पार्कका लागि मन्थली नगरपालिकाको चार करोड रुपियाँ र सङ्घीय सरकारले दुई करोड ८८ लाख रुपियाँ लगानी गरेको छ ।
पार्कमा तीन वटा स्वीमिङ पुल, सभा हल, प्रशासनीय भवन, चेन्जिङ रुम, चमेनागृह लगायतका संरचना बनेका छन् । एकै पटक तीस जना भन्दा बढीले स्वीमिङ गर्न सक्नेगरी महिला पुरुष र बालबालिकाका लागि छुट्टा छुट्टै स्वीमिङ पुल निर्माण गरिएको छ । यो पार्क ११ सय वर्गमिटरमा फैलिएको छ । यो आयोजनाको सम्झौताको १५ महिनामा काम सक्नुपर्ने हो ।
तर निर्माण कम्पनी पाँच पोखरी कन्ट्रक्शनले कोरोना भाइरस, मुल्य वृद्धि लगायतको बहाना बनाएर काममा ढिलाई गरिरहेको छ । मन्थली नगरपालिकाका नगरप्रमुख लब श्रेष्ठले पार्कको बाँकी रहेको काम छिटो सकेर सञ्चालन गर्ने बारेमा निर्माण कम्पनी, प्राविधिक लगायतसँग छलफल गरी आवश्यक निर्देन दिएको बताउनुभयो ।
नगरपालिकाको गौरवको आयोजनाका रुपमा निर्माण गरेको स्वीमिङ पुल सहितको तीनलाल स्मृति पार्क नगरपालिकाको नमूना आयोजना भएकाले यसलाई छिटो भन्दा छिटो सञ्चालन गर्ने बारेमा नगरपालिका गम्भीर रहेको उहाँको भनाइ छ ।