रामेछाप । रामेछापको सदरमुकाम मन्थलीको बजार क्षेत्रमा खानेपानी वितरण गर्दै आएको मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको खानेपानी वितरण गर्ने ट्याङ्कीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा विश्वास श्रेष्ठ नामक युवाले पोष्ट गरको भिडियो हेर्दा खानेपानीको ट्याङ्की निकै फोहोर अव्यवस्थित देखिन्छ । खानेपानीको ट्याङ्की माछा पोखरी जस्तो खुला देखिन्छ भने यो टङ्कीमा जम्मा गरिएको पानीमा पुरै लेउँ तैरिएको छ, किरा फट्याङ्ग्रा र चरा चुरुङ्गीहरुले फोहोर गरेको पनि देखिन्छ । मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिले यही अव्यवस्थित र फोहोर ट्याङकीमा तामाकोसीको पानी लिप्ट मार्फत तानेर जम्मा गर्छ र उपभोक्ताहरुलाई खानेपानी वितरण गरिरहेको छ । भिडियोमा हेर्दा यो खानेपानी ट्याङकीलाई जो कोहीले कुनै माछा पालन गरिएको पोखरी सजिलै भन्न सक्छन् । तर यो कुनै माछा पालन पोखरी नभै रामेछाप सदरमुकाम मन्थलीका नागरिकलाई खानेपानी वितरण हुने ट्याङकी हो । नेपाली सेनकाको नयाँदल गण ब्यारेकभित्र रहेको यो खानेपानी ट्याङ्की सम्म जो कोही पुग्न सक्दैनन् ।
केही समय अघि घरका धाहरुमा खानेपानी धमिलो आएको र यो पानी पिउँदा मन्थलीका धेरै मानिसमा स्वास्थ्य समस्या देखिएको गुनासो आएपछि आफुहरु खानेपानीको ट्ङ्की खोज्दै गएको मन्थलीका युवा विश्वास श्रेष्ठले बताउनुभयो । नेपाली सेनाको ब्यारेकभित्र रहेको खानेपानी ट्याङ्कीको अवस्था हेर्दा मन्थली खानेपानी उपभोक्ता समितिले फोहोर पानी वितरण गरेरे नागरिकको स्वास्थ्यसँग खेलवाड गरिरहेको महशुस भएको उहाँले बताउनुभयो । सुरुमा त ट्याङ्की हेर्न जान निकै कठिन भयो, नेपाली सेनाले सहजै भित्र प्रवेश दिएन, पछि हामी उपभोत्ता हौँ भनेपछि कता कता फोन गरेर सेनाले प्रवेश दियो, त्यसपछि ट्याङ्कीको अवस्था हेर्दा सारै नरमाइलो लाग्यो उहाँले भन्नुभयो । उहाँले पानी जम्मा गर्ने पोखरी पुरै खुला रहेको र जम्मा भएको पोखरीमा पुरै लेउँ लागेको, भ्यागुता र किरा फट्याङ्ग्रा रहेको बताउनुभयो । पानी ट्याङ्की पुरै खुला भएकाले जंगली जनावर र चराचुरुङ्गीले पनि पानी पुरै फोहोर बनाएको उहाँले बताउनुभयो ।
यता मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष पूर्ण सुवेदीले सामाजिक सञ्जालमा आएको कुरा पूर्ण रुपमा गलत रहेको बताउनुभयो । भिडियोमा हेर्दा खानेपानी ट्याङकीमा लेउ लागेर फोहोर देखिए पनि यो लेउ खानेपानी विभागको सल्लाह अनुसार पानी फिल्टर गर्न रणजोर खोलाबाट लगेर हालेको उहाँको भनाइ छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्राविधिकहरुको सल्लाहा अनुसार पानी जमाउने पोखरीमा पानीलाई विषालु पार्ने किटाणु खाने किरा र लेउ प्रयोग गरिएको हो उहाँले भन्नुभयो । देख्दा फोहोर जस्तो देखिए पनि खानेपनी कार्यालयले खुला आकाशमुनी पोखरी राखेर फिल्टर सिस्टम बनाएको उहाँले बताउनुभयो । यता सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सबइन्जिनियर सन्तोष कुमार ठाकुरले भने पानी फिल्टर गर्न लेउ, किरो र काठका टुक्राहरु राख्ने कुरा आफुलाई थाहा नभएको बताउनुभयो । पानी फिल्टरका लागि बालुवा र पाइपका टुक्राहरु प्रगोग गरिए पनि समय समयमा सफा गरी परिवर्तन गरिरहनुपर्ने उहाँको भनाइ छ । यसैबिच मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समिति खानेपानी वितरण ट्याङ्की फाहोर भएको गुनासो बढेपछि जिल्लाका सरोकारवाला निकायले खानेपानी वितरण ट्याङ्की क्षेत्रको निरिक्षण गरेको छ । सोमबार मन्थली नगरपालिका प्रमुख लवकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडी सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रतिनिधि लगायतको टोलीले त्यो क्षेत्रको निरिक्षण गरेको हो । मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समिति मार्फ खानेपानीको सुविधा लिन अहिले एक हजार भन्दा बढी सदस्य बनिसकेका छन् । यसमध्ये अहिले झण्डै नौँ सय सयदस्यहरुको धारामा नियमित रुपमा खानेपानी वितरण भैरहेको छ ।
