मन्थली नगरपालिका–८ चिसापानीमा टोल टोलमै सामाजिक सुरक्षा भत्ता

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १४ २०७९
  • तामाकोशी

रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको एक वडाले टोल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । मन्थली नगरपालिका वडा नं ८ चिसापानीले लक्षित वर्गको टोल टोलमा र घरमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता निकाल्न सदरमुकाम मन्थलीमा रहेको बैङ्क आउन निक्कै समस्या हुने गरेको छ ।
विगतमा सरकारले घर घरमा सामाजिक सुरक्षा भत्ता पु¥याउने व्यवस्था गरेपनि अनियमितता भएको र सम्बन्धित व्यक्तिको हातमा पैसा नपरे गुनासो आएपछि सरकारले सामाजिक सुरक्षा भत्ता बैक खातामा जम्मा गर्ने व्यवस्था मिलाएको छ । तर बैङ्क खातामा आउने पैसा निकाल्न ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई पुग्न निक्कै कष्ट हुने गरेको छ ।
यसैलाई मध्यनजर गरी सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको सहजताका लागि मन्थली नगरपालिका वडा नं ८ चिसापानीले सामाजिक सुरक्षा भत्ता टोल टोलमा लगेर वितरण गर्ने व्यवस्था मिलाइएको मन्थली नगरपालिका वडा नं ८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।
वडा कार्यालयले स्थानीय बचत तथा ऋण सहकारी संस्था मार्फत गाउँमा नै भत्ता पु¥याउने व्यवस्था मिलाइएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यसको लागि सहकारी र बैङ्कबिच सम्झौता नै भएको छ । सहकारीले सामाजिक भत्ता वितरण गरेपछि चेक लिने र पछि भरपाई अनुसार बैङ्कबाट भुक्तानी लिने व्यवस्था मिलाइएको र यसले नागरिकलाई भत्ता प्राप्त गर्न निक्कै सहज भएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । चिसापनीका ज्येष्ठ नागरिक, अपाङ्ग, असहाय, एकल महिला गरी पाँच सय भन्दा बढी नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।