खाँडादेवी गाउँपालिका भरी सिँचाइ गर्ने नागरिकको सपनालाई सार्थक बनाउछु : अध्यक्ष श्रेष्ठ

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ७ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले गाउँपालिकाको सुक्खा क्षेत्रका जनताको प्यास मेटाउने काम आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । एमालेबाट निर्वाचित हुनुभएको अध्यक्ष श्रेष्ठले गाउँपालिकाको धेरै क्षेत्र सुक्खा ग्रस्त भएकोले नदी र खोलाको पानी तानेर घर घरमा पानी पु¥याउने र सुक्खा पाखालाई हरियाली बनाउने बताउनुभयो । उहाँले सो गाउँपालिकामा अघिल्लो एमालेको कार्यकालमा धेरै पूर्वाधारका काम भएकाले त्यसलाई निरन्तरता दिने बताउनुभयो ।
उहाँले प्राविधिक शिक्षामा जोड दिने र शिक्षालाई व्यवहारसँग जोड्ने बताउनुभयो । उहाँले एमालेले जारी गरेको प्रतिबद्धता पत्रमा खाँडादेवीलाई कस्तो बनाउने भन्ने सपना देखेको बताउनुभयो । यसलाई पुरा गर्न सबैको सहयोग आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । श्रेष्ठले भटौली खोलामा ड्याम बाँधेर गाउँपालिका भरी सिँचाइ गर्ने सपनालाई सार्थक बनाउन आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र सात वटा वडाध्यक्ष एमालेले जितेको छ । नौ वटा वडा रहेको गाउँपालिकामा माओवादी केन्द्रले एक र नेपाली कांग्रेसले एक वडाध्यक्ष जितेका छन् ।