काठमाडौं । नेकपा एमाले लिखु तामाकोशी गाउँपालिकाले स्थानीय तह निर्वाचनको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य, सुशासनमा हाम्रो सरोकार नागरिकको समृद्धिमा लिखु तामाकोसी सरकार नारासहित प्रतिबद्धता पत्र मतदाता समक्ष वितरण गरेको हो।
एमालेले लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा कमल कडेरिया, उपाध्यक्षमा दिपा पाख्रिन उम्मेदवार बनेका छन्। त्यसैगरी दुरागाउँको वडा अध्यक्षमा प्रदिप तामाङ, सैपुबाट सन्तोष पौडेल, बिजुलीकोटबाट राजकुमार खड्का, बिजुलीकोट (४)बाट मोहन क्याप्छाकी मगर, नागदहबाट सोमबहादुर तामाङ, खिम्तिबाट शिवप्रसाद न्यौपाने, तिल्पुङबाट इन्द्रबहादुर बुढाथोकी उम्मेदवार बनेका छन्। एमालेले नागदह र खिम्तिमा अघिल्लो निर्वाचनमा पनि विजयी भएका उम्मेदवार दोहोर्याएको हो। एमालेले विगतको कमीकमजोरीलाई समेत समीक्षा गरेर ५ वर्षे कार्ययोजनासहित प्रतिबद्धता जनाएको छ। लिखुमा गत स्थानीय तहको निर्वाचनमा एमालेले ३७ सिटमध्ये एक वडा अध्यक्ष र एक वडा सदस्यबाहरेक ३५ सिटमा निर्वाचित भएको थियो ।
एमालेले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्वन गरी स्थानीय क्षेत्रको विकास र प्रशासनमा सुशासन कायम गर्न जनप्रतिनिधिहरुको सम्पत्ति विवरण वार्षिक रुपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ। लिखु तामाकोसी एमालेले गाउँपालिका केन्द्र धोवीमा प्राविधिक शिक्षालय र क्याम्पस स्थापना गरी सञ्चालन गर्ने आवश्यक विद्यालयहरुलाई एकिकृत (शिक्षक दरबन्दी मिलन) गरी गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि स्कुल बसको व्यवस्था मिलाइने प्रतिबद्धता जनाएको छ।
लिखु एमालेले एक पालिका: एक उद्योग ग्रामको प्रस्तावित कार्यनीति बनाई प्रभावकारी कार्यान्वयनमा जोड दिने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ। कृषक परिचय पत्रको व्यवस्था गर्दै कृषक समूह, कृषि सहकारी दर्ता तथा नविकरणमा सरलिकृत र कृषक समूह तथा सहकारीको संस्थागत क्षमता विकास साथै आवश्यक अनुदान, प्रोत्साहनको व्यवस्था गरिने एमालेले प्रतिबद्धता जनाएको छ।
‘कृषि पर्यटनलाई विस्तार गरिने, पालिकाभित्र उत्पादन बृद्धि गर्न कृषि पकेट क्षेत्रहरु, पशुपञ्छी विकास सम्बन्धी कार्यहरु, एक घर एक रोजगार सिर्जना गर्ने तालिमहरुको व्यवस्था गरिने छ।’घोषणा पत्रमा भनिएको छ,‘ कृषि तथा पशुपन्छी पालन सम्बन्धी उन्नत प्रविधिको विस्तार, उत्पादन भएका वस्तुको उचित मूल्य निर्धारण गरी बजारिकरण एवं बेचविखनको ग्यारेण्टी गरिने छ।’ कृषि उत्पादनलाई बजारीकरण गर्न संकलन केन्द्र स्थापना, स्थानीय स्तरमा उपलब्ध जडिबुटीहरुको पहिचान गरी संरक्षण र खेती विस्तार गर्न एमालेले जोड दिने नीति लिएको छ। गरिने छ।
सूचना तथा सञ्चार प्रणालीलाई प्रभावकारी बनाउनको लागि एकीकृत सूचना व्यवस्थापन प्रणालीको विकास गरी कार्यन्वयन गर्ने र प्रत्येक बस्तीमा ईन्टरनेटको सुविधा उपलब्ध गराइने, बैज्ञानिक कर प्रणाली लागु गर्ने घोषणा गरेको छ। पालिका क्षेत्रभित्र बस्ती बस्न योग्य क्षेत्र पहिचान गरी आवश्यक सवै पुर्वाधारको विकास गरी नमूना एकिकृत बस्तीको विकास गरी शहरोन्मुख सुविधा दिने योजना तयार गरिने, पालिकाक्षेत्रका सबै वडाहरुमा आधारभूत खानेपानी सुविधा पु्र्याउने नीति अनुसार एक घर एक धाराको व्यवस्था गरिने पालिकाले प्रतिबद्धता जनाएको छ।
एमालेले गाउँपालिका केन्द्रमा शिलान्यास गरिएको अस्पताललाई शीघ्र निर्माण, प्रत्येक स्वास्थ्य चौकीहरुमा दक्ष स्वास्थ्यकर्मी सहित सेवा उपलब्ध गराइने, पालिकस्तरीय अस्पतालमा वर्षमा २ पटक होलबडी स्वास्थ्य जाँच सेवा उपलब्ध गर्ने व्यवस्था मिलाइने प्रतिबद्धता जनाएको छ। विद्यालयहरुमा विद्यालय नर्सको व्यवस्था समेत गरिने एमालेले नीति लिएको छ।
एमालेले भेषभुषा र संस्कृति जगेर्नाका लागि पालिका केन्द्र धोवी बजारमा बहु सांस्कृतिक सङ्ग्रहालयको स्थापना गर्ने लक्ष्य लिएको छ।‘परापूर्वकालदेखि चल्दै आएका बालन, भजन, किर्तन, मारुनी, चण्डी, सेलो, सोरठी, जात्रेको जगेर्ना गर्ने सो सँग सम्बन्धित समुदायलाई विशेष प्याकेजको व्यवस्था गरिनेछ।’प्रतिबद्धता पत्रमा भनिएको छ,‘तामाङ, नेवार, मगर, गुरुङ, ह्योल्मो, सुनुवारलगायतका समुदायहरुको प्राचिन संस्कृतिलाई जगेर्ना तथा संरक्षणका लागि विशेष प्याकेजको व्यवस्था गरिने छ। गाउँपालिका क्षेत्र भित्रका जातिगत तथा समुदायको प्राचिन हातहतियार, ग्रन्थ, देवीदेवता, भेषभुषालगायतका सामग्री तथा विधिपद्धतिको जगेर्नाका लागि पालिका केन्द्र धोवी बजारमा बहु सांस्कृतिक सङ्ग्रहालयको स्थापना गरिने छ।’
गाउँपालिका क्षेत्रमा युवा तथा खेलकुद सम्बन्धी आवश्यक नीति नियम तथा संरचना तयार गरी कार्यन्वयन गर्ने एमालेको लक्ष्य छ। प्रतिबद्धता पत्रमा एक वडा, एक खेलमैदान स्थापना गरी विभिन्न खेल सम्बन्धि गतिविधि संचालन, खेलाडीलाई व्यवसायिक रुपमा प्रवर्द्धन गर्न पहल, पालिका तथा वडामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न खेलाडी उत्पादन, परिचालन, अभिलेख तयार गरी योगदान तथा क्षमताको आधारमा प्रोत्साहन, पालिकास्तरीय खेल प्रशिक्षण केन्द्रको संरचना तयार गरिने उल्लेख छ।
यातायात तथा सडक पूर्वाधार व्यवस्थापन
गाउँपालिका केन्द्र धोवीदेखि सातै वडा केन्द्रसम्म पुग्ने सडकहरु, जिल्ला तथा अन्तरपालिका सडक सञ्जालमा जोडिएका सडकहरुको क्रमागत कालोपत्रे तथा स्तरोन्नति गरिने एमालेले प्रतिबद्धता जनाएको छ।
हलेदेबेसी-धोवी-सिरिसे-ढाँडे सडक
धोवी-दिलौरी-दुरागाउँ-भुजी सडक
खिम्ती-शिवालय-धोवी सडक
कुकुरकाटे भञ्ज्याङ-काङ्जा धोवी सडक
दिलौरी-जगमाने-बासे सडक
तिल्पुङ छाँगा-बोहोरा गाउँ-छापगाउँ-गैरी सडक
धोवी-चिलाउने-खोल्मागाउँ-गोठगाउँ सडक
डिही- तिल्पुङ सडक
कोटगाउँ-रातमाटा-साँघुटार सडक
सैपु-ढाँडे सडक
कोटगाउँ कल्लेरी-पोकु दोभान- सिसन्धु सडक
लिखु तामाकोसी एमालेको प्रतिबद्धताः जनप्रतिनिधिको सम्पत्ति सार्वजनिक गर्ने, प्राविधिक क्याम्पस स्थापना
यसैगरी ट्रयाक ओपन भएका सबै सडकहरु मर्मत तथा स्तरोन्नति गरी बाहै महिना यातायात संञ्चालन योग्य बनाइने घोषणा पत्रमा उल्लेख छ। ‘तिल्पुङ गिदान चउर, मानेडाँडा, ऐरम्बास काङ्बा, खोल्मागाउँ। चिलाउने। कोटगाउँ, रातमाटा, शिरिसे ढाँडे, पिङ्गति, पाला, भिरखर्क, होपिना, खापिङ, बासे, नोप्रा, गिद्दे, धोवी, गैरी, केउरीनि, नागथली, झाँक्रिडाँडा खिम्ती, तिल्पुङ सडकलाई लिखु तामाकोशी रिङरोडको रुपमा विस्तार गरिने छ।’ प्रतिबद्धता पत्रमा भनिएको छ,‘निर्माणाधिन अवस्थाका सडकहरुमा पुल निर्माण गरिने छ। संघीय, प्रदेश सरकार, स्थानीय तह र नीजीक्षेत्र समेतको सहकार्यमा लिख करिडोर, नदी तटीय क्षेत्रमा र रामेछाप सालु, धोवी, गिद्दे, नोप्रा, बासे, भित्तरीखानी, उमाकुण्ड जाने पर्यटकीय हिमाली सडक निर्माण गर्न पहल गरिने छ। प्रत्येक बस्तीमा (वडामा) हेलिप्याड निर्माण गरिने छ।’
‘सुखी नेपाली, समृद्ध नेपालको नारा लिएर जनसेवामा खटिएको पार्टी हो ( नेकपा (एमाले)। नेकपा (एमाले) ले मात्रै यहाँहरुको मर्म र भावना अनुसारका कार्यक्रम ल्याएर यस गाउँपालिकाको विकास गर्न सक्छ भन्ने कुरामा कुनै द्विविधा छैन।’प्रतिबद्धता पत्रमा भनिएको छ, ‘विगतको इतिहास जस्तै नेकपा (एमाले)ले यहाँहरुको चाहना र भावनाको कदर गरी यस पटकको निर्वाचनमा उम्मेदवार बन्नु भएका हाम्रा सम्पूर्ण उम्मेदवारहरुलाई सुर्य चिन्हमा मतदान गरी विजयी गराउनु हुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।’
एमाले लिखु तामाकोशी गाउँपालिकाले प्रतिबद्धता पत्र (पूर्णपाठ) हेर्न यहाँ क्लिक गर्नुहोला