अभिशाप बन्दै रामेछाप भूजीको ठिन्केपु पहिरो

  • प्रकाशित मिति: आइतबार, पुष ४ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका ७ भूजीको ठिन्केपु स्थित गाउँको बीचबाट ठुलो पहिरो सुरु भएको छ । धेरै वर्ष अघिदेखि सुरु भएको सो पहिरो बीचमा रोखिएको थियो । तर २०७२ सालको भूकम्प पछि फेरि पहिरो जान सुरु भएको वडाध्यक्ष नेवारले बताउनुभयो । पहिरोले भूजीको साविकका वडा नं २, ३ र ५ लाई प्रभावित पारेको छ । ठिन्केपुका ३० घर तथा गैरीगाउँका ५० भन्दा बढी पहिरोको चपेटामा छन् । गाउँको माथिबाट खसेको पहिरो गाउँलाई बीचमा चिरेर बगेको छ । माथिबाट झरेका ठुलाठुला ढुंगाले खेतीयोग्य जमिन बगाएको छ, कतिपय ठाउँमा कटान गरेको छ, कतिपय ठाउँमा पुरेको छ । माथिबाट खसेको पहिरो कतिबेला घरभित्र पस्ने हो, पहिरोबाट झरेको ढुंगाले कसको घर फोर्ने हो । कहाँ कसको धन जन क्षति गर्ने हो भन्ने त्रास स्थानीयबासीन्दामा छ ।
गाउँको बीचमा सिरानदेखि पुछारसम्म पहिरो झरेको कारण वर्षाको बेला तीनवटा वडाको वडा कार्यालय, स्वास्थ्य चौकी तथा विद्यालयसँगको सम्बन्धनै विच्छेद हुने गरेको श्रेष्ठले बताउनुभयो । पानी पर्ने वित्तिकै तीनवटा वडाका मानिसहरु आउजाउ नै गर्न नसक्ने उहाँले गुनासो गर्नुभयो । सोही पहिरो हुँदै उक्त गाउँपालिकामा निर्माण भएको मध्यमार्गी सडक निर्माण भएको छ । तर पहिरोको कारण सो सडक समेत वर्षा लागेपछि बन्द हुन्छ । यसले स्थानीयको जनजीवन थप कष्टकर हुने गरेको छ । पहिरो नियन्त्रणको लागि स्थानीय सरकारको बजेटले धान्न सक्ने अवस्था छैन । त्यसैले पहिरो नियन्त्रणको लागि विषेश योजना आवश्यक रहेको उहाँले बताउनुभयो । यसको लागि आवश्यक सहयोगको लागि पनि उहाँले सरोकारवालालाई अनुरोध गर्नुभयो ।