रामेछाप । ऐतिहासिक धार्मिक एवं सांस्कृतिक पर्यटकीय स्थल शैलुङमा लाग्ने मेला भर्न मानिसहरु शैलुङ पुगेका छन् । आइतबार लाग्ने जनै पूर्णिमाको मेला भर्न शैलुङमा केही दिन अघिनै श्रद्धालुहरूको चहलपहल शुरू भएको थियो । कोरोना नहुँदा रामेछाप र दोलखा जिल्लाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पर्यटकीय स्थल शैलुङमा लाग्ने मेलाको १० हजारभन्दा बढिले अवलोकन भ्रमण गर्दथे । कोरोनाका कारण गत वर्ष सामान्य रह्यो भने यसपटक श्रद्धालुहरूको उपस्थिती राम्रो देखिएको छ । शैलुङ मेलामा धामी झाँक्री गुफा बस्न, मृतकको सम्झनामा बत्ति बाल्न, पुजा अर्चना गर्न मानिसहरु आउने गरेको स्थानीय दावासाङ्बु शेर्पाले बताउनुभयो ।
विगतका वर्षहरुमा जनै पूर्णिमाको अवसरमा लाग्ने मेलाको १० हजार बढी भत्तजनहरुले अवलोकन भ्रमण गर्दथे, कोरोना भाइरसका कारण गत वर्षको मेला सामान्य रह्यो, यो वर्ष भने केही दिन अघिबाटै मेला भर्ने मानिसको चहलपहल बढेको छ उहाँले भन्नुभयो । करिव ७ सय वर्षअघि देखी जनैपुर्णिमाको अवसरमा शैलुङमा मेला लाग्ने गरेको स्थानीयहरुको अनुमान छ । शैलुङ मेला भर्नका लागी रामेछाप सहित दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका भक्तजन शैलुङ पुग्ने गरेका छन् । दोलखा र रामेछापको सिमानामा पर्ने महाभारतअन्तर्गतको सबैभन्दा अग्लो शैलुङ डाँडा पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका र दोलखाको शैलुङ गाउँपालिकाको सिमानामा पर्ने शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकको राम्रै उपस्थिती हुने गरेको छ । केही समयअघिसम्म ओझेलमा परेको शैलुङ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको नयाँ आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको भएपनि फेरी कोरोेनाको प्रभावमा परेको छ । समुन्द्री सतहदेखि तीन हजार तीनसय मिटर उचाइमा रहेको शैलुङमा एक सय वटा फरक फरक आकृतिका थुम्का छन् । प्राकृतिक रुपमा बनेका सयौँ थुम्का, क्षणमा कुहिरोले ढाक्ने त क्षणमा नै सूर्यको किरणले नजिकैको हिमाल चाँदी जस्तै टल्कने र शैलुङमा देखिने भेडाको बथानले शैलुङ्ग पुग्ने सबैको मन लोभ्याउछ ।

