धोवी, जेष्ठ १९ गते । लिखुतामाकोशी गाउँपालिका वडा नं. २ सैपुका ३३ जना कोरोना संक्रमित विरामीहरु संक्रमणमुक्त भएका छन् । करिव २ हप्ताअगाडी कोरोना संक्रमित रिपोर्ट आएपछि सैपुस्थित अरुणादोय माध्यामिक विद्यालयको आइसोलेशन कक्षमा उपचारारत ३३ जना विरामीहरु संक्रमणमुक्त भई बुधबार डिस्चार्ज भएको हो ।
कोरोना संक्रमित विरामीहरु संक्रमणमुक्त भएपछि वडा कार्यालयको तर्फबाट खसी काटेर मिस्ठान्न भोजन सहित विदाई गरिएको वडाअध्यक्ष पदम बहादुर तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “करिव दुई हप्तासम्म आइसोलेशनमा रहेका संक्रमितहरुको थप लक्ष्यणहरु केहि नदेखे पछि डाक्टरको निगरामीमा सामान्य परिक्षण पछि हामीले आज मिस्ठान्न भोजनसहित विदाई गर्याैं ।”
वडाअध्यक्ष तामाङका अनुसार बुधबार डिस्चार्ज हुनेहरु मध्ये हाइड्रोका कामदार, कर्मचारी २७ जना र स्थानिय सैपुबासी ६ जना रहेका छन् । आइसोलेशनमा रहँदाको खर्च हाइड्रो कम्पनी र वडाकार्यालयविच सम्झौता गराई ब्यवस्थापन गर्ने सहमति भएको छ । लिखुतामाकोशी गाउँपालिकाको वडा नं. १ र २ संक्रमणको दृष्टिले धेरै जोखिम रहेको पछिल्लो तथ्याङ्कहरुले देखाएको छ ।