काठमान्डौं । एमालेको संस्थापन पक्षले झलनाथ खनाल र माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ता पार्टीमै रहने सम्भावना कमजोर बनेको निष्कर्ष निकालेको छ । वरिष्ठ नेता माधव नेपालले आइतबार आफ्नो समूहनिकट अनेरास्ववियु केन्द्रीय कमिटीको भर्चुअल बैठकमा ओलीसँग सहमतिको सम्भावना कमजोर रहेको भन्दै क्रान्तिकारी पार्टी गठनको विकल्प नरहेको बताएका दुई दिनपछि संस्थापन पक्षको यस्तो निष्कर्ष आएको हो ।
पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न भइरहेका छलफललाई विवेचना गरेर नेतृत्वका तर्फबाट एकताका निम्ति अन्तिमसम्म पनि प्रयत्न जारी राख्ने निष्कर्ष निकालेका छौँ । हामी एकता सकेसम्म जोगाउन सकियोस् भनेरै छलफल गरिरहेका छौँ, धेरैभन्दा धेरै साथीहरू मूल धारमा रहनुहोस् भनेर हाम्रो प्रयास अझै जारी छ ।
वरिष्ठ नेता नेपालसहितका केही नेताले प्रमुख विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कामको नेतृत्व गरेकाले उनीहरू पार्टीमै रहने सम्भावना कमजोर बनेको संस्थापन पक्षको आन्तरिक विश्लेषण छ । ‘बडो गर्वका साथ शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र आफ्नो पार्टीको उम्मेदवारलाई हराउने कुरालाई महिमामण्डन गरिराख्नुभएको छ । ती साथीहरू फर्किनुभयो भने त राम्रै होला, तर एकताको प्रयास र चाहनाका बीचमा कहीँकतै तालमेल मिल्दैन, तैपनि हाम्रो कोसिस जारी छ,’ स्थायी कमिटीको मंगलबारको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने ।
स्थायी कमिटीको बैठकले कारबाहीमा परेका वरिष्ठ नेता नेपाल, खनाल र भीम रावललगायत केही नेताले पार्टी फुटाउने प्रयास जारी राखेको पनि निष्कर्ष निकालेको छ । संस्थापन पक्षले अधिकतम नेता–कार्यकर्तालाई पार्टीको मूल धारमै राख्ने गरी अन्तिमसम्म पार्टी एकताका लागि प्रयास गर्ने भएको छ । आजको नयाँपत्रिकामा खबर छ ।