काठमान्डौं । सार्वजनिक पद धारण गरेका व्यक्तिले पद तथा गोपनीयताको शपथग्रहण गर्दा अब ‘प्रतिज्ञा’ गर्न नपर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको ३१ वैशाखको शपथग्रहण विवादमा तानिएपछि सरकारले बिहीबार शपथसम्बन्धी अध्यादेश, २०७८ जारी गरेर ‘प्रतिज्ञा’ शब्द नै हटाएको छ ।
संविधानको धारा ७६ (३)अनुसार संसद्मा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा ३० वैशाखमा पुनः प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले त्यसको भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । त्यसक्रममा उनले ‘प्रतिज्ञा’ शब्द उच्चारण गरेका थिएनन् । राष्ट्रपतिले दोहोर्याएर सम्झाउँदा उनले ‘त्यो पर्दैन’ भनेका थिए । शपथको ढाँचाविपरीत शब्द उच्चारण गरेको भन्दै चातर्फी आलोचना हुनुका साथै सर्वोच्च अदालतमा रिटसमेत परेको थियो ।
‘यसअघि शपथसम्बन्धी कानुन नहुँदा ३१ वैशाखमा समस्या भयो, प्रधानमन्त्री शपथग्रहण गर्दा विवादमा तानिनुभयो,’ कानुनमन्त्री लीलानाथ श्रेष्ठले भने, ‘त्यही भएर अध्यादेशमार्फत कानुन ल्याएका हौँ ।’ नयाँपत्रिकामा खबर छ ।
संशोधित शपथको ढाँचामा ‘…..कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह नराखी, खराब भावना नलिई इमानदारीका साथ पालना गर्नेछु’ भन्ने शब्द राखिएको छ । यसअघि ….पालना गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने शब्द थियो ।
त्यस्तै, अध्यादेशमार्फत ‘देश र जनताका नाममा’ शपथ लिन पाउने कानुनी व्यवस्था पनि गरिएको छ । यसअघिको शपथ ढाँचामा ‘ईश्वरका नाममा….’ शपथ लिने व्यवस्था थियो । तर, शपथ लिने पदाधिकारीले आफूखुसी शब्द थप्दै उच्चारण गर्ने गरेका थिए ।
अब भने ‘ईश्वर’ वा ‘देश र जनता’का नाममा शपथग्रहण गर्न सकिने व्यवस्था गरिएको छ । तर, शपथ लिने व्यक्तिले कसको नाममा शपथ लिने हो त्यसको जानकारी अगाडि नै शपथ गराउने पदाधिकारीलाई दिनुपर्नेछ ।