रामेछाप, बैशाख ३० गते । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ६ खिम्ती प्राथमिक स्वास्थ्य केन्द्रमा सात बेडको आइसोलेसन निर्माण गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको रोहबरमा नयाँ गोरख गण रामेछापका सह-सेनानी लिला बहादुर तामाङ नेत्रित्वको टोलीले उक्त आइसोलेसनको विहिबार निर्माण गरेको हो ।
अक्सिजन सिलिण्डर सहितको आइसोलेसन भनिएता पनि प्रयाप्त औषधी र कर्मचारी नहुदाँ खिम्ती प्राथमिक स्वास्थ्य केन्द्र निक्कै समस्यामा रहेको वडाअध्यक्ष शिव न्यौपानेले गुनासो गर्नुभयो । उहाँका अनुसार विहिबार निर्माण भएको आइसोशलशनमा ५ वटा मात्र अक्सिजन सिलिण्डर रहेको र भरिएको अक्सिजन ३ वटा मात्र रहेको बताउनु भयो । “यहाँ औषधी पनि छैन, कर्मचारी पनि छैन म तनावमा छु तर पालिका अध्यक्षको बैगुनीले गर्दा जनता मारमा परेका छन्” उहाँले दुखेसो पोख्नुभयो ।
स्टाप नर्सको नेत्रित्वमा रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर सहितको प्रर्याप्त कर्मचारी राख्न भने गाउँपालिकाले असहयोग गरेको वडाध्यक्ष न्यौपानको गुनासो छ । आफुले कोरोना नियन्त्रणमा सहयोग गर्न संघ देखी प्रदेश सरकारसम्म हारगुहार गरेको र सहयोग आउने आशवासन आएको तर पालिकाले चाहेमा त्यो सम्भव रहेको बताउनु भयो ।
निक्कै जोखिमको रुपमा मानिएको लिखुतामाकोशी गाउँपालिका भित्र जनप्रतिनिधीहरुको एकआपसमा विवादका कारण अहिलेसम्म पिसिआर टेस्ट समेत गर्न सकिरहेको छैन ।