जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत जनकपुरधाममा रामजानकीको मटकोर कार्यक्रम सम्पन्न भएको छ । जनकपुरको ऐतिहासिक गंगासागर पोखरीमा भएको सो कार्यक्रममा साधु सन्तहरुको सहभागिता रहेको थियो ।
जानकीको झाँकी राखेर भएको सो कार्यक्रममा सहभागीहरुले रामजानकी सम्बन्धि गीत समेत गाएका थिए । कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव लगायतका व्यक्तिहरु रहेका थिए । जानकी जन्मोत्सवको सन्दर्भ पारेर जन्म देखि विवाहसम्मको कार्यक्रम जनकपुरमा अहिले भईरहेको छ ।
भारतको अयोध्यावाट जन्ती नआएका कारण विवाहपञ्चमी उत्सवमा खल्लो महसुस भएपनि परम्परालाई निरन्तरता दिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले वताए । मटकोर कार्यक्रमको संयोजन जनकपुरको सेभ हिस्टोरिकलले गरेको थियो ।
भगवान राम र जानकीको वैवाहिक कार्यक्रम अन्तर्गत शनिवार स्वयम्बर र बिहे कार्यक्रम हुने छ । सात दिवसीय विवाहपञ्चमी अन्तर्गत पहिलो दिन नगरदर्शन, दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचो दिन मटकोर सम्पन्न भइसकेको छ । विवाहपञ्चमीलाई लिएर जानकी मन्दिरलाई दूलही झै सिंगारिएको छ ।