एकैदिन ६१ जनाले कोरोनालाई जिते , निको हुनेको संख्या १५५ पुग्यो

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ १३ २०७७
  • तामाकोशी

काठमाडौं । जेठ १३ गते,
नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या दिनदिनै बढ्दै गए जस्तै कोरोनालाई जितेर घर फर्कनेहरुको संख्या पनि बढ्दै गएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित भएका मध्ये एक सय ५५ जना निको भएका छन् । सोमबार बेलुका वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइ रहेका ४३ जना डिस्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना भाइरसलाई जितेर घर फर्कनेको संख्या एक सय ५५ पुगेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदनकुमार उपाध्यायले ४३ जना कोरोना मुक्त भएपछि नारायणी अस्पतालको आइसोलेशन कक्ष खाली भएको बताए । यसअघि सोमबारनै नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना डिस्चार्ज भएका थिए । प्रदेश १ मा २६ जना, प्रदेश २ मा ७६ जना, वाग्मती प्रदेशमा ११, गण्डकी प्रदेशमा दुई , प्रदेश ५ मा ३५ जना र सूदूरपश्चिममा पाँच जना गरी एक सय ५५ जना उपचारपछि निको भएका हुन् । त्यस्तै सोमबार नै कपिलवस्तुमा कोरोना सङ्क्रमित नर्स उपचारपछि घर फर्किएकी छिन् । कपिलवस्तु अस्पतालमा कार्यरत तौलिहवाकी २५ वर्षीया नर्स सङ्क्रमणबाट मुक्त भएर घर फर्किएकी हुन् ।