रामेछाप । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै जाँदा रामेछापमा केन्द्रीय महाधिवेशन प्रतिनिधिका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन्। यसैक्रममा उमाकुण्ड गाउँपालिका–३ का क्षेत्रीय प्रतिनिधि तथा कलाकार प्रकाश कटुवालले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
कटुवालले रामेछापका महाधिवेशन प्रतिनिधि, पार्टीका अग्रज नेता तथा युवा पुस्ताका कार्यकर्तासँग आफ्नो उम्मेदवारीबारे जानकारी गराउँदै सहयोग, समर्थन र मतका लागि आग्रह गर्नुभएको छ।
उम्मेदवारी घोषणा गर्दै कटुवालले पार्टी संगठनलाई स्थानीय तहदेखि जिल्लासम्म थप सुदृढ बनाउन तथा कार्यकर्ताका भावना र अपेक्षालाई केन्द्रसम्म पुर्याउन सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभएको छ।
उहाँले नेपाली कांग्रेसको संगठनलाई थप मजबुत बनाउँदै आगामी दिनमा पार्टीका गतिविधिमा सक्रियतापूर्वक सहभागी हुने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने निर्णय गरेको बताउनुभयो।
युवामाझमा लोकप्रिय कटुवालले पार्टीका अग्रज नेता, युवा पुस्ता तथा महाधिवेशन प्रतिनिधिको साथ, सहयोग र विश्वास आफूले पाउने अपेक्षा व्यक्त गर्नुभएको छ। उहाँले आफ्नो उम्मेदवारीलाई समर्थन गरी निर्वाचित गराउन रामेछापका सम्पूर्ण महाधिवेशन प्रतिनिधिसमक्ष आग्रह गर्नुभएको छ।