मन्थलीमा ‘चौथो रामेछाप कप खुला पुरुष फुटबल’ हुने, विजेताले ३ लाख ३ हजार पाउने

  • प्रकाशित मिति: शनिबार, असोज ३ २०८३
  • तामाकोशी

मन्थली। बडा दसैँ तथा शुभ दीपावलीको अवसरमा रामेछापको मन्थलीमा ‘चौथो रामेछाप कप खुला पुरुष फुटबल प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ। दिपशिखा ब्वाइज युनाइटेड क्लबको आयोजनामा आगामी असोज २५ देखि २९ गतेसम्म मन्थली नगरपालिका–२ स्थित करम्बोट खेलमैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगिताका सम्पूर्ण खेलहरूको गोल नेपाल (GoalNepal) मार्फत प्रत्यक्ष प्रसारण (लाइभ) गरिने आयोजकले जनाएको छ।

नाइन-ए-साइड (9A Side) ढाँचामा आयोजना गरिने यस प्रतियोगिताको विजेता टोलीले नगद रु. ३ लाख ३ हजार ३३३ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष आशिष कार्कीले जानकारी दिनुभयो। त्यसैगरी उपविजेता हुने टोलीले नगद रु. १ लाख ५१ हजार १११ का साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन्
प्रतियोगितामा व्यक्तिगत विधातर्फ समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ। प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’का साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही रु. ५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ
प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि असोज २२ गते बिहान १०:०० देखि बेलुकी ५:०० बजेसम्म टिम दर्ताको समय तोकिएको छ। टिम दर्ता शुल्क रु. १५ हजार र कार्ड डिपोजिट रु. ३ हजार कायम गरिएको छ। खेलको तालिका असोज २३ गते दिउँसो १:०० बजे मन्थली पार्क इनमा सार्वजनिक गरिनेछ
फिफाको नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा प्रत्येक टोलीमा आयोजकले तोकेबमोजिमका खेलाडी तथा पदाधिकारी सहभागी हुन पाउनेछन् ।