रामेछाप । वैशाख २५ गते,
रामेछाप जिल्लामा दुईदिनदेखी डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गर्ने कार्य हुन सकेको छैन । जिल्लामा वैशाख २३ गते मंगलबार यता एकजनाको पनि र्यापिड टेष्ट भएको छैन । मंगलबारसम्म २ सय १२ जनाको यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । नेपालमा पनि कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दै गएपछि सरकारले परिक्षण दरलाई बढाउँदै लगिरहेको बेलामा रामेछापमा भने र्यापिड परिक्षण कार्यनै सुस्त हुदै गएको छ । जिल्लामा कोरोना भाइरस परिक्षणको दायरा बढाउन नसकेको गुनासो पनि आउन थालेका छन् । जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले कोरोना भाइरसको शंकास्पद तथा विदेशबाट आएका कुनैपनि नागरिक नभएकाले र्यापिड टेष्ट नगरिएको बताए । उनले स्थानीय सरकारको जानकारी तथा सिफारिसका आधारमा र्यापिड टेष्ट गरिने भएकाले अहिले कुनै पनि स्थानीय सरकारले परिक्षण गर्नुपर्ने शंकास्पद तथा विदेशबाट आएका ब्यक्ति सिफारी नगरेकाले परिक्षण रोकिएको बताए । शंकास्पद तथा विदेशबाट आएका ब्यक्ति भएमा तत्कालै र्यापिड टेष्ट हुने उनको भनाई छ ।
मंगलबारसम्म जिल्लाको विभिन्न पालिकामा महिला ४६ जना र पुरुष १ सय ६६ जनाका र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको छ भने बुधबार र विहिबार एक जनाको पनि यो परिक्षण गरिएको छैन । अहिलेसम्म मन्थली नगरपालिकामा ४५ जना , रामेछाप नगरपालिकामा २६ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा १६ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ४० जना र जिल्ला अस्पतालमा २ जनाको र्यापिड परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ जिल्ला अस्पताल रामेछापका प्रमुख कर्णले बताए ।
विहिबारसम्म रामेछापमा ३७ जनालाई क्वारेन्टिनमा राखिएको छ । अहिले दोरम्बा गाउँपालिकामा वैशाख ५ गते काठमाडौँबाट आएका ९ जना , उमाकुण्ड गाउँपाकिलामा भारत लगाएत विभिन्न देश तथा काठमाडौँबाट आएका २४ जना र मन्थली नगरपालिकामा ४ जनालाई क्वारेन्टिनमा राखिएको जिल्ला अस्पताल रामेछापका प्रमुख कर्णले जानकारी दिए । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ , गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ३ शैया आइसोलेसन कक्ष स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४७ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ र सुनापति गाउँपालिकामा २६ शैया क्वारेन्टिन स्थापना गरिएको कर्णले जानकारी दिए ।
रामेछापमा र्यापिड टेष्ट रोकियो , जिल्लाभर ३७ जना क्वारेन्टिनमा
- प्रकाशित मिति: बिहिबार, बैशाख २५ २०७७
- तामाकोशी