रामेछापमा १ सय ८६ जनाको र्‍यापिड टेष्ट , ३० जना क्वारेन्टिनमा

  • प्रकाशित मिति: शनिबार, बैशाख २० २०७७
  • तामाकोशी

रामेछाप । वैशाख २० गते,
रामेछाप क्वारेन्टिनमा बस्नेको संख्या घटेको छ । जिल्लाको विभिन्न स्थानमा क्वारिन्टिनमा बसेकाहरुको र्‍यापिड तथा स्वाव पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएसंगै क्वारेन्टिनमा बस्नेको संख्या घटेको हो । एक समय क्वारेन्टिनमा बस्नेको संख्या ८१ जना सम्म पुगेको रामेछापमा शनिबारसम्म ३० जनामात्रै क्वारेन्टिनमा रहेको जिल्ला अस्पताल रामेछापले जनाएको छ । अहिले दोरम्बा गाउँपालिकामा वैशाख ५ गते काठमाडौँबाट आएका ९ जना र उमाकुण्ड गाउँपाकिलामा भारत लगाएत विभिन्न देश तथा काठमाडौँबाट आएका २१ जनालाई क्वारेन्टिनमा राखिएको जिल्ला अस्पताल रामेछापका निमित्त प्रमुख जितेन्द्र कर्णले जानकारी दिए । उनका अनुसार मन्थली नगरपालिकाका एक जना महिला र एक जना पुरुषको कोरोना भाइरस कोभिड १९ को आशंकामा गरिएको स्वाव परिक्षण रिपोर्ट नेगेटिभ आएसंगै शनिबार एकैदिन उनीहरुको परिवार सहित २३ जनालाई क्वारेन्टिनबाट निकालिएको छ ।
कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ , गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ३ शैया आइसोलेसन कक्ष स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४७ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ र सुनापति गाउँपालिकामा २६ शैया क्वारेन्टिन स्थापना गरिएको कर्णले जानकारी दिए ।
जिल्लामा हालसम्म १ सय ८६ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । हालसम्म मन्थली नगरपालिकामा २४ जना , रामेछाप नगरपालिकामा २६ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा ११ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ४० जना र जिल्ला अस्पतालमा २ जनाको आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको कर्णले बताए ।