रामेछापमा क्वारेन्टिनमा बस्नेको संख्या घट्दो,जिल्लाभर ४५ जना क्वारेन्टिनमा

  • प्रकाशित मिति: शुक्रबार, बैशाख ५ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख ५ गते,
रामेछाप जिल्लामा क्वारेन्टिनमा बस्नेको संख्या घटेको छ । विहिबारसम्म छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएका ६९ जनालाई क्वारेन्टिनमा राखिएकोमा शुक्रबार जम्मा ४५ जना क्वारेन्टिनमा छन् । अहिले रामेछाप नगरपालिकामा २ जना , गोकुलगंगा गाउँपालिकामा ८ जना , उमाकुण्ड गाउँपाकिलामा ११ जना , सुनापति गाउँपालिकामा १८ जना , खाँडादेवी गाउँपालिकामा ६ जनालाई क्वारेन्टिनमा राखिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनका अनुसार अहिले मन्थली नगरपालिकला , लिखुतामाकोशी गाउँपालिका,दोरम्बा गाउँपालिकामा क्वारेन्टिनमा एक जना पनि बसेका छैनन् । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म जिल्लाको ८ वटै स्थानीय तहमा हालसम्म ३ सय १ शैया क्वारेन्टिन र ५८ शैया आइसोलेसन कक्ष स्थापना गरिएको छ । अहिले ४५ जना होम क्वारेन्टिनमा बसेका छन् । शुक्रबारसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ र गोकुलगंगा गाउँपालिकामा ५ शैया आइसोलेसन सेन्टर स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४३ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ शैया क्वारेन्टिन स्थापना गरिएको कर्णले जानकारी दिए । भारत लगायत विदेशबाट फकिर्एका सर्वसाधारणलाई स्वास्थ्यकर्मीको सम्पर्कमा आउन समेत जिल्ला अस्पताल रामेछापले आग्रह गरेको छ ।