रामेछाप । चैत २७ गते,
रामेछाप जिल्लामा ६२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । विहिबारसम्म गोकुलगंगा गाउँपालिकामा ३ जना, मन्थली नगरपालिकामा ७ जना, रामेछाप नगरपालिकामा २६ जना , सुनापति गाउँपालिकामा १५ जना , खाँडादेवी गाउँपालिकामा ६ जना र लिखुतामाकोशी गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । अहिले सबै होम क्वारेन्टाइनमा बसेका छन् । यसमध्य हालसम्म जिल्लाको ८ वटै स्थानीय तहमा जम्मा २ सय ८५ बेड क्वारेन्टाइन र ५८ बेड आइसोलेसन कक्ष स्थापना भएका छन् । विहिबारसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ र गोकुलगंगा गाउँपालिकामा ५ बेड आइसोलेसन सेन्टर स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा २६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४३ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४३ बेड क्वारेन्टाइन स्थापना गरिएको कर्णले जानकारी दिए । हालसम्म मन्थली नगरपालिकलामा १ जना खाँडादेवी गाउँपालिकामा ११ जना र गोकुलगंगा गाउँपालिकामा ४ जनालाई १४ दिन क्वारेन्टाइन राखी निगरानीबाट छुटाइएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । त्यसैगरी मन्थली नगरपालिकामा ज्वरोका कारण मृत्यु भएका तुला बहादुर थापा मगरको उपचारमा संलग्न ११ जना स्वाथ्यकर्मी र मृतकको परिवारका ४ जनालाई पनि क्वारेन्टाइनबाट छुटाइएको छ । मृतक मगरको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनको परिवारका सदस्य र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइनबाट छुटाइएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । मन्थली नगरपालिका वडा नं ११ का ६७ बर्षिय मगरको उपचारको क्रममा तामाकोसी अस्पतालमा मंगलबार राती मृत्यु भएको थियो ।
रामेछापमा ६२ जना क्वारेन्टाइनमा
- प्रकाशित मिति: बिहिबार, चैत्र २७ २०७६
- तामाकोशी