रामेछाप । चैत १५ गते,
विभिन्न स्थानमाबाट जिल्ला भित्रिएका ५४ जनालाई रामेछाप जिल्लमा क्वारेन्टाइनमा राखिएको छ । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । शनिबारसम्म गोकुलगंगा गाउँपालिकामा ७ जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा ६ जना, रामेछाप नगरपालिकामा १७ जना ,खाँडादेवी गाउँपालिकामा १० र लिखुतामाकोशी गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । 
यसैगरी एकजना ज्वरोको विरामीलाई आइसोलेसनमा राखि उपचार भई रहेको छ । प्रमुख कर्णका अनुसार तामाकोसी अस्पताल मन्थलीमा आइसोलेसनमा भर्ना भएका उनको ज्वरो घटेकाले नमुना परीक्षणका लागि पठाइएको छैन । उनको ज्वरो घटेकोले मौशमी ज्वरो भएको अनुमान गरिएको छ । तरपनि उनलाई आइसोलेसमा राखेर छुट्टै उपचार गरिएको तामाकोसी अस्पतालका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिए । उनको स्वास्थ्यमा राम्रो सुधार आएको र एकदुईदिनमा डिस्चार्ज गरिने उनले बताए ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन् । जिल्लाका विभिन्न पालिकाहरुहरुमा आवश्यक पर्दा चिकित्सकहरु गएर उपचार गर्न सक्ने खालका ४५ वटा आइसोलेसन कक्षहरु र १ सय ६७ क्वारेन्टाइन स्थापना भई सकेका छन् । हालसम्म मन्थली नगरपालिकामा २२ वटा, रामेछाप नगरपालिकामा ४ वटा, दोरम्बा गाउँपालिकामा ७ वटा र सुनापति गाउँपालिकामा ६ वटा आइसोलेसन सेन्टर स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा २० वटा , रामेछाप नगरपालिकामा ६० वटा ,दोरम्बा गाउँपालिकामा ८ वटा , खाँडादेवी गाउँपालिकामा २० वटा , गोकुलगंगा गाउँपालिकामा १५ वटा , उमाकुण्ड गाउँपालिकामा २८ वटा र लिखुतामाकोशी गाउँपालिकामा १६ वटा क्वारेन्टाइन स्थापना गरिएको कर्णले जानकारी दिए । सामुयदायिक क्वारेन्टायनमा राखिएका मानिसहरुलाई क्वारन्टाइनमा राख्दा खाने बस्ने व्यवस्था समेत स्थानीय सरकारले मिलाउने गरि प्रवन्ध गरिएको छ ।
रामेछापमा क्वारेन्टाइनमा बस्नेको संख्या ५४ पुग्यो : जिल्लाभर १६७ क्वारेन्टाइन र ४५ आइसोलेसन कक्ष स्थापना
- प्रकाशित मिति: शनिबार, चैत्र १५ २०७६
- तामाकोशी