मन्थली बजार अनुगमन : ३३ केजी सडेको मासू सहित अखाद्य सामाग्री जफत

  • प्रकाशित मिति: मंगलबार, चैत्र ४ २०७६
  • तामाकोशी

रामेछाप । चैत ४ गते, बद्री नयाघरे,
मन्थली नगरपालीकाको नेतृत्वमा छुटटा छुट्टै चारवटा टोलीले सोमबार मन्थलीका १९ बटा मासु र अन्य खाद्यन्न तथा तरकारी पसल र होटलको समेत अनुगमन गरेको छ । सो क्रममा ४ वटा मासू पसलबाट ३३ केजि सडेको मासु बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालय समेतको सक्रियतामा गरेको आकश्मिक अनुगमनका क्रममा टोलीले उक्त मासू जफत गरेको हो । जसमा न्यु फेमस कोल्ड स्टोर बाट २० केजी, मन्थली मासु पसल बाट ४ केजी, रेसम मासु पसलबाट ७ केजी र सावित्रा कोल्ड स्टोरबाट १ केजी गरि कुल ३३ केजी अस्वास्थ्यकर सडेको मासू बरामद गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । एकै चोटी चार वटा टोली बनाएर सुरक्षाकर्मि सहित सम्वन्धित क्षेत्रका कर्मचारी,रामेछाप उद्योग बाणिज्य संघका पदाधिकारी र सञ्चार माध्यमका प्रतिनिधिहरु समेत सहभागि गराएर बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा बजारको सामुदायिक अस्पताल र कटहरबोट नजिकैको औषधि पसल वाहेक अन्य सबै अस्पताल र औषधि पसल हरु बाट म्याद नाघेको औषधि बरामद गरेको जानकारी प्रशासनले गराएको छ । सो क्रममा ३ वटा अस्पताल, एउटा पोलीक्लिनिक र २ वटा औषधि पसलको अनुगमन गरेको जानकारी पनि प्रशासनले गराएको छ । होटल तथा पसल अनुगमनबाट अखाद्य तथा म्याद नाघेको सामाग्रि पनि जफत गरिएको छ । जफत गरिएका सामाग्रि र पसलहरुको बारेमा चारवटै टोलीले प्रतिवेदन बुझाए पछि समिक्षा बैठक गरि आवश्यक कार्वाहि प्रकिृया अघि बढाइने साहायक प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए ।