काठमाण्डौ । इटलीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्नको लागि एक करोड ६० लाख मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । ती मानिसहरुलाई यथास्थानमा बसिरहन भनिएको छ ।
सरकारको आदेशअनुसार लोम्बार्डी र अन्य १४ वटा प्रान्तका मानिसहरुलाई अब यात्रा गर्नका लागि इजाजत लिनुपर्नेछ । मिलान र भेनिस पनि कोरोना भाइरसको सङ्क्रमणबाट प्रभावित भएका छन् ।
चीनबाहिर यस्तो किसिमको कडा कदम केवल इटलीले मात्र उठाएको छ, यो आउँदो ३ अप्रिलसम्म लागू हुनेछ । युरोपमा कोरोना भाइरसबाट इटली सबैभन्दा धेरै प्रभावित भएको छ । शनिबार सङ्क्रमणको दर इटलीमा तीव्र रुपमा बढेको थियो । इटलीमा जसरी कोरोना रोकथामको लागि कडा कदम उठाइएको छ, यसको दायरामा देशको एक चौथाइ जनसङ्ख्या पर्छ ।
इटलीको उत्तरी इलाका कोरोना भाइरसबाट प्रभावित हुनु इटलीका लागि गम्भीर कुरा हो, जसले देशको अर्थव्यवस्थालाई ऊर्जा दिने गर्छ । इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३० नाघिसकेको छ । अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा ३६ जनाको ज्यान गएको छ । शनिबार कोरोना पुष्टि भएको सङ्ख्या शुक्रबारको तुलनामा १२ सय बढेर पाँच हजार आठ सय ८३ भएको छ ।
@उज्यालो बाट
दुखत खबरः इटालीमा कोरोना सङ्क्रमण रोक्न १ करोड ६० लाख मानिसहरुलाई यात्रामा प्रतिबन्ध
- प्रकाशित मिति: आइतबार, फाल्गुन २५ २०७६
- तामाकोशी