रामेछाप । वैशाख ६ गते,
सुरुमा निमार्णले निक्कै गति लिएको मध्यपहाडी मार्ग अन्तर्गत रामेछाप जिल्ला भित्रको सडक निर्माणको काममा अहिले आएर निक्कै ढिलाई भएको छ । काठमाडौलाई पूर्व र पश्चिमको मध्यपहाडसँग जोड्ने गरी निर्माण सुरु गरिएको सो सडकको विभिन्न ठाउँबाट निर्माणकार्य चलि रहेको छ ।
सोही सडक अन्तर्गत रामेछापको खाँडादेवी गाउँपालिकाको भिरपानी स्थित सित्खापुलबाट पुर्व र पश्चिम काठमाडौँ तर्फ सडक निर्माणको काम सुरु भएको छ ।
सुरुमा दुवै तर्फ ३÷४ वटासम्म डोजर लगाएर सडक खन्ने काम भए पनि अहिले निर्माणका गति सुस्ताएको छ । सित्खाबाट सुनकोसी किनारको पूर्वपट्टी साविकको पकरबास गाविसको वेनीको पाखोसम्म सडकको टयक खोल्ने काम भएको छ । पश्चिम तर्फ भने सित्खाबाट केही किलोमिटरमात्र सडक निर्माण भएको छ । अहिले सडक निर्माण गर्ने साधनहरु समेत त्यतिकै थन्किएर बसेका छन् ।
काठमाडौँबाट काभ्रेको पाँचखाल हुँदै सुनकोसी किनारै किनार अहिले निर्माण भएको खुर्काेट घुर्मी सडकलाई जोड्ने गरी सडकको निर्माण सुरु गरिएको हो । यो सडकको निर्माणकार्य सम्पन्न भएपछि काठमाडौँबाट पूर्वजानको लागि यो सडक विपीमार्गको वैकल्पिक र छोटो मार्ग हुने भए पनि सडक निर्माणामा राज्यको ध्यान जान सकेको छैन ।
मध्यपहाडी मार्ग अन्तर्गत रामेछापको सडक निर्माणको काममा ढिलाई
- प्रकाशित मिति: बुधबार, बैशाख ६ २०७४
- तामाकोसी खबर