ओखलढुंगा । चैत ३० गते,
ओखलढुंगामा हुने पहिलो पर्यटकीए महोत्सव देम्बा महोत्सव नजिकिएसँगै खिजीदेम्बा गाउपालिकाका स्थानीयहरु हर्षित भएका छन् । जिल्लाकै अग्लो देम्बा डाँडामा आगामी बैशाख १ गतेदेखि ३ गतेसम्म हुने देम्बा महोत्सव नजिकिसंगै स्थानीयहरुमा पनि रौनकता देखिएको छ ।
प्रचार प्रसारको अभावमा ओझेलमा परेको रमणीय स्थल देम्बा डाँडामा अहिले महोत्सवको तयारी भैरहेको छ । महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेबि भण्डारीले गर्ने कार्यक्रम रहेकाले यसको तयारीलाई विशेष रुपमा हेरिएको छ । अहिले सो स्थलमा मञ्च ब्यबस्थापन र अन्य प्राविधिक तयारीहरु भइरहेको खिजीफलाटेका इन्द्र घिसिङले जानकारी दिए ।

महोत्सवका लागि मंगलबारबाट विद्युत सेवा समेत पुगिसकेको घिसिङको भनाई छ । महोत्सव अवधिभर आउने पर्यटकहरुलाई सञ्चार सम्पर्कको सुविधाका लागी देम्बा डाँडामा नेपाल टेलिकमको अस्थायी टावर समेत खडा गरिएको छ । जिल्लाकै अग्लो स्थानमा रहेको देम्बा डाडाँमा राम्रोसँग नेटवर्कले काम नगर्ने भएकाले अस्थायी टावरको निर्माण गरेको आयोजकले जनाएको छ । महोत्सवलाई लक्षित गरी अहिले देम्बा डाँडामा रावादोलु र भूसिगांका स्थानीयले २५ भन्दाबढी होटलहरु संचालन गर्ने तयारी गरेका छन् । त्यस्तै दुई वटा हेली प्याड निमार्णको काम समेत अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । ३ दिनसम्म चल्ने महोत्सवमा ३ करोड ३७ लाखको खर्च हुने अनुमान गरिएको छ ।