काठमान्डौं, भदौ २९ गते ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू|) को भावनाअनुरुप मलेसिया रोजगारी नियमित भएको प्रष्ट पारेको छ ।
मन्त्रालयले आज एक वक्तव्य जारी गर्दै दुवै देशबीच सम्पन्न समझदारीको अक्षर र भावनाको पूर्ण कार्यान्वयन हुने गरी मलेसिया रोजगारी सञ्चालन गरिएको जनाएको छ । समझदारीपश्चात् बाँकी रहेका प्राविधिक विषय टुङ्गो लगाउन यही भदौ २४ र २५ गते मलेसियाको पुत्रजयामा दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूहको बैठक बसेको थियो ।
सोही बैठकले नै समझदारी भएको लामो समयसम्म नियमित हुन नसकेको मलेसिया रोजगारीको सम्बन्धमा ‘ब्रेकथ्रु’ गरेको थियो । बैठकमा श्रम समझदारी कार्यान्वयनका सन्दर्भमा टुङ्गो लाग्न बाँकी विषयमा छलफल गरी समझदारी कार्यान्वयनलाई औपचारिकरुपमा अगाडि बढाउन सहमति भएको मन्त्रालयले जनाएको छ ।
समझदारीपश्चात् काठमाडौँमा बसेको पहिलो संयुक्त कार्यसमूहको बैठकले समझदारीको कार्यान्वयन गर्ने सन्दर्भमा दुवै देशका तर्फबाट गरिनुपर्ने कार्यका साथै भर्ना प्रक्रिया चरण निर्धारण गरेको थियो ।