रामेछापको मन्थलीमा तिज विशेष बृहत साँस्कृतिक कार्यक्रम

  • प्रकाशित मिति: शनिबार, भाद्र १४ २०७६
  • तामाकोशी

रामेछाप । भदौ १४ गते ,
रामेछापको मन्थलीमा तिज विशेष बृहत साँस्कृतिक कार्यक्रम २०७६ शनिबार सम्पन्न भएको छ । भृङ्गेश्वर सेवा समाजको आयोजनामा राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती सहित कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम भृङ्गेश्वर सेवा समाज रामेछापका अध्यक्ष शिव सागर मगर र पुर्व सांसद एवं नेकपाका केन्द्रीय सदस्य देबशंकर पौडेलको प्रमुख आतिथ्यतामासम्पन्न भएको हो ।
रामेछाप सास्कृतिक कलाकार समाज, राष्ट्रिय संगितकर्मी संघ जिल्ला कार्यसमिति रामेछाप सहआयोजक रहेको कार्यक्रममा प्रमुख अतिथि एवं पुर्व सांसद देबशंकर पौडेल , संविधानसभा सदस्य लक्ष्मी गुरुङ, मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत , रामेछाप नगरपालिका उपप्रमुख सिर्जना खड्का , मन्थली नगर कार्यपालिका सदस्य नारायण बोगटी र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल लगाएतका वक्ताहरुले बोलेका थिए । कार्यक्रममा बोल्दै उनीहरुले पछिल्ला समयमा तीजको बहानामा धेरै भड्कीलो कार्यक्रमहरुको विकास हुदै गएकाले यसको नियन्त्रण गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरुले तीजको बहानामा होटल तथा पार्टी प्यालेसहरुमा हुने यस्ता भड्कीलो कार्यक्रम प्रति सरकारले गरेको कडाई स्वागत योग्य रहेको बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरु प्रकाश कटुवाल, रविता मगर , कुमार कार्की, गोमादेवी खत्री, गोविन्द गौतम, लक्ष्मी आले, विवश बस्नेत, तिर्थविरक्त पाख्रिन र शिवसागर मगर लगाएत कलाकारहरुले विभिन्न सांगितिक प्रस्तुति दिएका थिए । कार्यक्रममा पत्रकारिताको क्षेत्रबाट जिल्ला निर्माणका लागि योगदान गरेको भन्दै पत्रकार टिका प्रसाद भट्टलाई प्रमाणपत्र अभिनन्दन गरिएको थियो । कार्यक्रममा रामेछाप जिल्लाको विभिन्न स्थानीय तहका उपप्रमुखहरुलाई पनि प्रमाणपत्रले सम्मान गरिएको थियो ।