मन्थली नगरपालिकामा दुई बर्षमा ९ वटा नयाँ स्वास्थ्य संस्था थप

  • प्रकाशित मिति: मंगलबार, असार २४ २०७६
  • तामाकोशी

रामेछाप । असार २४ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिकाले स्वास्थ्य संस्थामा नागरिक पहुँच अभिवृद्धिको लागि नयाँ स्वास्थ्य संस्थाहरु संचालनलाई जोड दिएको छ । मन्थली नगरपालिकाले नगरभित्र २ बर्ष भित्रमा ९ वटा नयाँ स्वास्थ्य संस्थाहरु थप गरेको छ ।
मन्थली नगरपालिकामा आर्थिक बर्ष २०७३÷७४ सम्म १३ स्वास्थ्य संस्था थिए । आर्थिक बर्ष २०७५÷७६ को अन्त्यसम्म संघिय सरकारबाट तीनवटा, प्रदेश सरकारबाट एक वटा र नगरपालिका आफैले नगरको विभिन्न स्थानमा ७ वटा सहरी स्वास्थ्य केन्द्र संचालन गरेको छ ।
यो संगै अहिले मन्थली नगरपालिकाले २२ वटा स्वास्थ्य संस्था मार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको नगर स्वास्थ संयोजक केशव फुयाँलले बताए । नेपालको संविधान २०७२ ले नागरिकको आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा स्थापीत गरेकाले सोहि अनुरुप अत्यावश्यक स्वास्थ्य सेवा समुदायको पहँुचमा पुर्याउनका लागि नगरपालिकाको अत्यावश्यक स्थानहरुमा स्वास्थ्य संस्थाहरु स्थापना गरिएको संयोजक फुयालले जानकारी दिए । उनले स्वास्थ्य संस्थाको उचित व्यवस्थापन गरी सेवा प्रवाहामा प्रभावकारिता ल्याउन तथा दीगो पनका लागि नगरपालिका स्वास्थ्य शाखा ठोस योजना बनाएर अगाडी बढ्ने बताए ।
अहिले मन्थली नगरपालिकाको मन्थली र गेलुमा प्राथमिक स्वास्थ्य केन्द्र र नगरका विभिन्न वडामा ९ वटा स्वास्थ्य चौकीहरु संचालनमा छन् । नगरपालिकाबाट सञ्चालित ७ वटा सहरी स्वास्थ्य केन्द्र , संघिय सरकारको सहयोगमा सञ्चालित ३ सहरी स्वास्थ्य केन्द्र र प्रदेश सरकारको सहयोगमा सञ्चालित एक सहरी स्वास्थ्य केन्द्र छन् । रामेछाप जिल्लाभर ८९ वटा स्वास्थ्य संस्थाहरु संचालनमा छन् ।