प्रधानमन्त्री ओलीलाई गंगा खड्काको चोटिलो पत्र

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १८ २०७६
  • तामाकोशी

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार,
सर्वप्रथमत तपाईंलाई धेरै-धेरै धन्यवाद। यो पत्र लेख्दै गर्दाको मेरो खुसी मापन गर्ने यन्त्र सायदै बनेको छैन होला। त्यसैले त खुसी व्यक्त गर्न अक्षरको साहरा लिएकी छु।

गुल्मीमा बसेर पत्रकारिता गर्दै सामाजिक अभियानमा सक्रिय छु। विगत ७ वर्षदेखि सुरक्षित महिनावारी राष्ट्रिय अभियानमा क्रियाशिल छु। हुन त नेपालका झण्डै ३ करोड नेपालीलाई एक एक गरी चिन्न र बुझ्न तपाईंलाई सम्भव छैन। तर, हामी आम नागरिकले हाम्रो देशको प्रधानमन्त्रीलाई चिनेका छौँ।



यसभन्दा अगाडि २०७३ साल जेठ ९ गते अन्नपूर्णपोस्ट् डटकममार्फत् ‘महिनावारीको पीडा पोख्दै प्रधानमन्त्रीलाई किशोरीको पत्र’ शीर्षकमा मैले खुल्लापत्र लेखेकी थिएँ।

त्यो पत्र पढ्ने फुर्सद मिलेको थियो वा थिएन। त्यो मलाई थाहा भएन। मैले यतिमात्रै बुझेकी छु। हामी नेपाली छोरीको महिनावारी पीडा बुझ्नुभयो। आर्थिक वर्ष २०७६÷७७ को बजेटमा देशभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानेटरी प्याडको व्यवस्थाले किशोरीलाई पक्कै राहत हुनेछ।

यस कार्यक्रमले हामी नेपाली छोरीलाई सम्बोधन गरेको छ। नेपाली छोरीको महिनावारीलाई स्वास्थ्य र पीडामुक्त बनाएको महसुस मैले गरेकी छु। महिलावारीको विषयमा सबैले बुझ्न जरुरी छ। किनकी कुनै एक छोरीको महिनावारी समस्या उसको मात्र हुनै सक्दैन। एक छोरीको समस्या र पीडाले सिंगो परिवार, समाज र राष्ट्रलाई प्रभावित बनाएको हुन्छ।

केही वर्ष अगाडिसम्म हामीले महिनावारीलाई धर्मसँग जोडेर विभिन्न बहानामा दुःख पायौं। अझ भन्नुपर्दा कष्टकर जीवन बितायौं। महिनावारी हुनु भनेको पाप हो भनेर समाजले हामीलाई विभेद गर्यो।

अब किशोरीले स्यानेटरी प्याड नपाएर विद्यालयबाट घर फर्किनुपर्ने छैन।

माजले सिर्जना गरेको कथित पाप पखाल्न अनेक दुःख र कष्ट सहनु पर्यो। यही पापको मानसिकताले कयौं किशोरी, छोरी, बुहारी र आमाले ज्यान गुमाए।

महिनावारी हुँदा खुसीले गद्गद् हुनुपर्ने छोरीको अनुहार पीडाले छोपिएको हुन्छ। कति किशोरी विद्यालय जान नसकेर घरमै लुकेर बस्न बाध्य छन्। अझ समाजकै दृष्टिकोणका कारण शरीरमा अनेकौं परिवर्तन भइरहँदा परिवारभन्दा टाढा एक्लै बस्न बाध्य छन्।

महिलाले मात्र प्राप्त गर्ने यो अनुपम बरदानको समयमा उनी पीडामा छटपटाउनमात्र सक्छिन्। तर, दुःख कसैलाई साट्न सक्दिनन्। यो प्राकृतिक नियम हो। समाजका जस्तासुकै बन्धनले पनि यसलाई रोक्न सक्दैन। तर, पनि अनेक अल्झन राखेर यो सुन्दर चक्रलाई समाजले कुदृष्टि राख्नु नै किशोरीका लागि अभिषाप हुन्छ। यो प्राकृतिक नियमलाई कष्टले होइन खुशी र उत्सवले पूरा हुन दिनुपर्छ।

स्यानेटरी प्याड सम्बन्धी सरकारी घोषणा तत्काल कार्यान्वयन होस्। अब कुनै पनि किशोरी रजस्वला भएपछि पढ्न छोडेर विद्यालयबाट घर फर्किनु नपरोस्। अनि छात्राले स्कुल वरिपरी बर्खे भेलले बगाएर ल्याएको टालो खोजेर योनीमा लुकाएर राख्नु नपरोस्। कक्षाकोठाको बेन्चमा रगत लत्पतिएपछि साथीको घृणा सहन नसकेर विद्यालय जान्न भन्नु नपरोस्।

विश्वास छ यो सरकारी घोषणाले महिनावारी भएको थाहा पाएका छात्र (केटा) साथीलाई देख्दा दैनिक शिर झुकाएर हिड्नुपर्ने अवस्था हुनेछैन। महिनावारी किशोरीको रहर होइन बाध्यता हो। यो पाठ हरेक विद्यालयका छात्रछात्रा सबैलाई सँगै राखेर पढाउनु आवश्यक छ। लुकेर होइन खुला रुपमा बहस गरेर यसको समाधान गर्नुपर्छ।

प्रधानमन्त्रीज्यू आफैँ भन्नुहुन्छ, ‘सृष्टिको सबैभन्दा सुन्दर चिज खोजी गर्नुपर्यो भने प्रत्येक घरका महिलाको अनुहार हेरे हुन्छ।’ जसलाई विश्वभरका साहित्यकारले पनि अक्षरले वर्णन गर्न सक्दैनन्। समाजले अनेक बहानामा महिनावारी हुँदा दाग देखाइदिन्छ। अछुतको संज्ञा दिन्छ। यी अनेक कुरा समाजलाई बुझाउन सामाजिक चेतनाको आवश्यकता छ।

बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले ‘सरकारी विद्यालयमा निशुल्क स्यानेटरी प्याडको व्यवस्था गरिने छ’, भन्ने शब्द उच्चारण गर्दा नै मेरो मन खुसीले गदगद भएको थियो। म मात्र होइन आम नेपाली छोरी खुसी छौं। मलाई विश्वास थियो। साँच्चिकै सबै छोरीले सरकार भएको महसुस गरेका छौँ। यसलाई मैले महिलाप्रतिको सामाजिक सम्मानको रुपमा लिएकी छु।

यत्तिबेला हामीले विगतदेखी नै स्यानेटरी प्याड उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र उद्योगमा कर छुट, विद्यालयमा स्वास्थ्य शिक्षकको व्यवस्थाको मागलाई अझ उठाउनुपर्ने ठानेका छौँ। यी सबै कुरा कार्यान्वयन हुन्।

यो सरकारको घोषणाले स्यानेटरी प्याड उत्पादन गर्ने उद्योग देशमा खुल्नेछन्। र, गुणस्तरहिन प्याड उत्पादन हुन सक्छ। जसले फेरि आम किशोरीको स्वास्थ्य खतरामा पर्न सक्छ। यसप्रति भने सरकार सचेत हुनुपर्छ। अनुगमनका लागि प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ।

विदेशी स्यानेटरी प्याडलाई बन्द गरी स्वदेशी कच्चापदार्थबाट निर्माण भएका सामग्रीलाई प्रोत्साहन गर्नु पनि जरुरी छ। प्रयोग भएका स्यानेटरी प्याडलाई डिस्पोज गर्ने इन्सिनेटरको निर्माण पहिलो आवश्यकता देखिएको छ। अनि सुरक्षित महिनावारी समाजको निर्माणका लागि निरन्तर जनचेतनाका कार्यक्रम गर्नुपर्ने अवस्था छ। गुल्मीमा २०७० सालदेखि सुरक्षित महिनावारी राष्ट्रिय अभियानले स्थानीय गाउँपालिका र नगरपालिकालाई महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय घोषणा गर्दे आएको छ। हाल ६ वटा गाउँपालिकाका झण्डै १ सय विद्यालय महिनावारीमैत्री भएका छन्। यो अभियान देशव्यापी बनाउनु आजको आवश्यकता हो। स्वास्थ्य र सुरक्षित महिनावारीमैत्री समाज निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद।
गंगा खड्का, गुल्मी
यो समाचार अन्नपूर्ण पोस्टमा छापिएको छ ।