रामेछाप । २७ गते, फाल्गुण ,
नेपालमा आम विनासकारी भूकम्प गएको २ वर्ष भयो । सरकारले पुननिर्माणको काम सुरु गरेको पनि झण्डै डेढ वर्ष भयो । भूकम्प पछिको पुननिर्माणको काम गर्न गठन गरेको पुननिर्माण प्रधिकरणका कार्यकारी निर्देशकले काम नगरेको भन्दै उनलाई वर्खास्त पनि गरियो । नयाँ कार्यकारी निर्देशक पनि आए । तर अवस्था अहिले पनि उस्तै छ । भूकम्प पीडितहरु अहिले पनि टहरामा छन् । नत अझै पनि बास्तविक पीडितले अनुदान पाउन सकेका छन् न भूकम्प पीडतको नयाँ घर बनेको छ । उनीहरु अहिले पनि टहरोमा नै कष्टकर जीवन गुजारी रहेका छन् ।
रामेछाप जिल्लामा भूकम्पले करिव ५० हजार भन्दा बढी घर भत्किएको अनुमान गरिएको छ । भूकम्प पीडितहरु अहिले पनि कष्टकर जीवन गुजारी रहेका छन् । यस्तै पीडा रामेछापको मन्थली नगरपालीकाको वडा नं १३ स्थित ठेडीखोलाका सिमान्तकृत माझी समुदायले व्यहोरी रहेका छन् । भूकम्पको कारण ठेडिखोलाका माझी समुदायका सबै घरहरु भत्किएका छन् । घर भक्तिएका मध्ये केहीले ५० हजार रुपैयाँ अनुदान पाएका छन् भने कतिपयले सो रकम समेत पाउन सकेका छैनन् । घर भत्किएपछि घरभन्दा केही वर खोलाको बगरमा रहेको सार्वजनीक जग्गामा टहरा हालेर बसेका माझी समुदायका मानिसहरु २ वषदेखि तीनै टहरामा कष्टपूर्ण जीवन गुजारी रहेका छ
न् ।
अत्यन्त गर्मी हुने सडक किनारको बगरमा टहरा बनाएर बसेका उनीहरुको छाप्राहरु सडकमा उड्न्े धुलोले धुलाम्य भएका छन् । भाँडाकुँडा, खनेकुरा सबै धुलाम्य हुन्छ । आवश्यक सामान जुटाउन नसक्दा घर निर्माणको काम थाल्न नसकेका उनीहरुको जीवन अत्यन्त कष्टकर भएको स्थानीय बिजुले माझी बताउँछन् ।
जाडोमा सित चुहिएर बस्न नसक्ने चिसो र गर्मिमा टन्टलापुर घामले वाफिने टहराको बसाई अति कष्टकर भएको स्थानीय कृष्णबहादुर माझी बताउँछन् । घर बनाउने काठपात जुटाउन नसक्दा र काम गर्ने मानिसहरु समेत नपाउँदा घर बनाउने काम सुरु गर्न नसकेको उनी बताउँछन् । सरकारको घर बनाउने नक्साको नीतिगत अस्पष्टना र काठ लगायत निर्माण सामाग्रिको अभावको कारण घर बनाउने काम अघि बढ्न नसकेको स्थानीय अगुवा निर्माण माझी बताउँछन् । हातमुख जोर्न धौधौ पर्ने माझीवस्तीका सबै मानिसहरु काम गर्न इँटाभटमा गएको कारण पनि पुननिर्माणको काम अघि नबढेको उनले बताए । माझी समुदायको बसोबास भएको पहिलाको बस्तीको भत्किएका र भत्कन लागेका घरहरुले खण्डहर भएको छ । स्थानीयहरु कष्टका साथ जीवन गुजारी रहेका छन् ।