पत्रकारिता पेशालाई पुजनीय बनाउँः सूचना आयोगका आयुक्त किरणकुमार पोख्रेल

  • प्रकाशित मिति: सोमबार, बैशाख ३० २०७६
  • तामाकोशी

रामेछाप,वैशाख ३० गते। राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोख्रेलले संघीय लोकतान्त्रिक गणतन्त्र टिक्ने कि नटिक्ने भन्ने कुरा सूचनाको हकसँग जोडिने बताएका छन्। सूचना आयोगले सोमबार सदरमुकाम मन्थलीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अभिमूखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘लोकतन्त्रको अन्तिम विकल्प संघीय लोकतान्त्रिक गणतन्त्र हो यसमा नागरिकको वितृष्णा जाग्यो भने जाने अर्को विकल्प छैन । त्यसैले नागरिकलाई शासन व्यवस्थाप्रति अपनत्व दिलाउन सूचन दिनुपर्छ,’ उनले भने ।



नागरिकको सर्वोच्चता स्वीकार गरी शासन व्यवस्थामा नागरिक सहभागिता बढाउने हो भने नागरिकको सूचनाको अधिकारलाई सुनिश्चित गर्नु पर्ने उनको भनाइ छ । उनले पत्रकारिता पेशालाई पुजनीय बनाउन पनि आग्रह गरे । हचुवाको भरमा समाचार लेख्दा पत्रकारिता क्षेत्र आलोचित भएको बताउँदै कम्तिमा उनले अपराध, सार्वजनिक खरिद, भ्रष्टाचार र अनुसन्धानमुलक समाचार लेख्दा सूचनाको हकसम्बन्धी कानूनको प्रयाग गर्न सुझाए ।

कार्यक्रममा सूचना आयोगका सचिव मणिराम ओझा, रामेछापकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीलगायतले सूचनाको हकसम्बन्धी ऐन र यसको प्रयोगको अवस्थाको बारेमा बोलको थिए । कार्यक्रममा नागरिक समाजका अगुवा र पत्रकारहरुले जिल्लामा नागरिकको सार्वजनिक निकायलको सूचनामा पहुँच नभएको गुनासो गरेका थिए । सूचना अधिकारी एवंम कार्यालय प्रमुखहरुले भने सूचनाको हक सम्बन्धी ऐनको प्रयोगको अभ्यास भइरहेको बताएका थिए ।