शैलुङ्ग साँस्कृतिक तथा प्राकृतिक पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

  • प्रकाशित मिति: बुधबार, बैशाख ४ २०७६
  • तामाकोशी

रामेछाप । वैशाख ४ गते, कैलाश खत्री ,
रामेछाप र दोलखा जिल्लाको सिमावर्ती क्षेत्र शैलुङ्गको प्रथम साँस्कृतिक तथा प्राकृतिक पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रामेछाप सदरमुकाम मन्थलीमा बुधबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको हो । शैलुङ्ग पर्यटन महोत्सव मूल समारोह समितिले यस्तो जनाएकोे हो । रामेछापको दोरम्बा गाउँपालिका , दोलखाको शैलुङ्ग र मेलुङ्ग गाउँपालिकाले संयुक्त रुपमा यहि वैशाख १३ गतेदेखि १५ गते सम्म संचालन गर्न लागेको महोत्सवको पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पत्रकार सम्मेलनलाई दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान , शैलुङ्ग गाउँपालिकाका अध्यक्ष भरत दुलाल र मेलुुङ्ग गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले सम्बोधन गरेका थिए । सम्मेलन मार्फत उनीहरुले शैलुङ्ग क्षेत्रको विकास , समृद्धि र विश्वव्यापी प्रचार प्रसारका लागि आफुहरुले महोत्सवको आयोजना गर्न लागेको बताए । महोत्सवमा स्थानीय झाकी , विभिन्न जातजातिका भेषभुषा , मौलिक खानाका परिकार , जंगल सफारी ,राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याती प्राप्त कलाकारहरुको बेजोड साँगितीक प्रस्तुती रहने छ ।
७० लाख खर्च अनुमान गरिएको महोत्सवमा स्थानीय स्तरमा उत्पादिन कृषिजन्य समाग्री , जडिबुट्टी , चौरी गाईकोे दुधबाट बनेका विभिन्न परिकार लगाएत अन्य व्यावसायिक प्रायोजनका स्टलहरु रहने छन् । महोत्सवमा जानका लागि गन्तव्य मार्ग र नक्सा समेत तयार गरिएको छ । जसमा सिन्धुपाल्चोकको मुडे हुदै ढुंगे खोला खर्क शैलुङ्ग एउटा , मन्थली ,खिम्ती , फुलासी डेवीटार हँुदै शैलुङ्ग सम्म अर्काे र सित्खा खाँडादेवी हँुदै शैलुङ्गसम्मको सडक मार्ग तथा पैदल गन्तव्य मार्गहरु तोकिएको छ । पत्रकार सम्मेलनमा सहभागिहरुले महोत्सवलाई सफल पार्न आआफ्नो पक्षबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनलाई संविधानसभा सदस्य तारानारायण श्रेष्ठ , तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले आफ्नो विचार राख्दै शैलुङ्ग क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरमा चिनाउँन यो महोत्सव सफल हुने विश्वास व्यक्त गरे ।