रामेछापको उमाकुण्ड गाउँपालिका पूर्ण खोपयुक्त घोषित

  • प्रकाशित मिति: शनिबार, जेष्ठ २ २०८३
  • तामाकोशी

रामेछाप रामेछापको दुर्गम हिमाली गाउँपालिका उमाकुण्ड पूर्ण खोप सुनिश्चित गाउँपालिका बनेको छ। शनिवार आयोजित विशेष कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेसँगै उमाकुण्ड औपचारिक रूपमा पूर्ण खोपयुक्त गाउँपालिका घोषित भएको हो।

गाउँपालिकाले २०८२ चैत १२ भित्र सबै वडालाई पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्य लिएको थियो। सोही लक्ष्यअनुसार ७ वडामा रहेका १५५ जना जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले पाउनुपर्ने सबै नियमित खोप प्राप्त गरेका छन्। त्यस्तै १६ देखि ५९ महिनासम्मका ४६८ जना बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सम्पूर्ण खोप पूरा गरेको सुनिश्चित भएपछि गत चैत १८ गते नै सबै वडा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो।



गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अविजित सुनुवारका अनुसार दुर्गम बस्तीका घरघरमा पुगेर बालबालिकालाई खोपको पहुँचमा ल्याउनु सहज काम थिएन, तर निरन्तर प्रयासपछि लक्ष्य हासिल भएको हो। उनले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र अभिभावकको भूमिकालाई निर्णायक भएको उल्लेख गर्दै अब यो उपलब्धिलाई निरन्तर कायम राख्नु मुख्य चुनौती भएको बताए।

“दुर्गम बस्तीका हरेक घरमा पुगेर बालबालिकालाई खोपको पहुँचमा ल्याउनु सजिलो थिएन। तर कुनै पनि बच्चा खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यले हामी निरन्तर लागिरह्यौँ, आज त्यसको परिणाम देखिएको छ,” उनले भने।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले यो उपलब्धि कुनै एक व्यक्तिको नभई सम्पूर्ण समुदायको साझा प्रयासको प्रतिफल भएको बताए। कुनै समय सामान्य स्वास्थ्य सेवासमेत कठिन रहेको उमाकुण्डमा सबै बालबालिका खोप सेवामा समेटिनु ठुलो सफलता भएको उनको भनाइ थियो। स्वास्थ्य मन्त्री थापा मगरले समृद्ध प्रदेश निर्माणका लागि शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रलाई समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले तीनै तहका सरकारबिच प्रभावकारी समन्वय भए मात्रै दुर्गम क्षेत्रका नागरिकले वास्तविक परिवर्तन महसुस गर्न सक्ने बताए।

प्रदेश राजधानीबाट टाढा र भौगोलिक रूपमा विकट मानिने उमाकुण्डको विकासका लागि बागमती प्रदेश सरकारले विशेष कार्यक्रम बनाएर अघि बढ्ने उनले प्रतिबद्धता जनाए। साथै अलपत्र परेका योजनाहरूलाई अघि बढाउन सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गर्ने पनि उनले बताए। उमाकुण्डको यो उपलब्धिले दुर्गम क्षेत्रमै पनि स्वास्थ्य सेवा प्रभावकारी रूपमा पुर्‍याउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको मन्त्री थापा मगरेको भनाइ छ ।