रामेछाप । फागुन २३ – गते,
स्थानीय शान्ति समिति रामेछापको आयोजनामा जिल्ला स्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता आइतबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । स्थानीय शान्ति समिति रामेछापका संयोजक लेखबहादुर कार्कीको अध्यक्षतामा भएको सो प्रतियोगितामा जिल्लाका १६ वटा माध्यामिक विद्यालयले भाग लिएका थिए ।

प्रतियोगितामा वुद्धभवानी मावि माकादुमको विद्यार्थी समुह प्रथम, नवदर्शन मावि तिल्पुङ द्वितिय, शिद्धेश्वर मावि गैराथोक तृतिय र प्रयागेश्वर मावि पकरबास सान्तोना भएका छन् ।विजयी विद्यालयलाई क्रमश ः १५ हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । विजयी विद्यार्थी तथा विद्यालयलाई रामेछापका प्रमुख जिल्ला अधिकारी एवं कार्यक्रमका प्रमुख अतिथि सूर्यबहादुर खत्रीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा बोल्दै खत्रीले यस्ता कार्यक्रमले विद्यार्थीको क्षमता विकासमा सहयोग पुर्याउने बताए । उनले जिल्ला स्तरीय कार्यक्रमले विद्यार्थीहरुको बिचमा चिनजान र घुलमिला हुने क्षमाताको पनि विकास हुने बताए ।

स्थानीय शान्ति समिति रामेछापका संयोजक लेखबहादुर कार्कीले स्थानीय स्तरमा शान्ति स्थापनाको लागि विद्यार्थीहरुबाट शान्ति समितिले सहयोगको अपेक्षा गरेको बताए । शान्ति समितिले स्थानीय स्तरमा शान्ति र सद्भाव फैल्याउन विभिन्न खालका रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।