८ मार्च, १०९ औँ अन्तराष्ट्रिय श्रमिक नारी दिवस, विश्वका महिलाहरुले मुक्तिका लागि गरेको संर्घष सम्झना गर्ने दिन । हरेक वर्ष झैँ यस वर्ष पनि विश्वभर अन्तराष्ट्रिय श्रमिक नारी दिवस मनाइँदैछ । सन् २०१० मा डेनमार्कको कोपनहेगनमा भएको समाजवादी श्रमिक महिलाको दोस्रो अन्तराष्ट्रिय सम्मेलन पछि हरेक वर्ष ८ मार्चलाई अन्तराष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालिएको हो ।
नेपालमा भने यो दिवस वि.सं. १९७५ देखि मनाइँदै आइएको छ । दिवसको यस वर्षको अन्तराष्ट्रिय नारा “लैङ्गिक समानताका लागि समान सोच र व्यवहार: समृद्धिको आधार” भन्ने रहेको छ ।
महिलाहरुले शोषणको प्रतिवाद गर्दै सन् १९०८ मा अमेरिकाको सिकागोका महिलाहरुले आफ्नो श्रमको उचित मूल्य हुनु पर्ने, स्वस्थकर वातावरण र सामाजिक सुरक्षा हुनु पर्ने, आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा विश्राम गर्न पाउनु पर्ने जस्ता माग राखी विरोध प्रदर्शन गरे । यसले पछि आन्दोलनको स्वरुप लियो । पछिल्लो समयमा महिलाले सार्वजनिक क्षेत्रमा पनि प्रवेश पाउनुपर्ने, रोजगारीको अधिकार सुनिश्चित हुनु पर्ने, मताधिकार हुनुपर्ने जस्ता कुरामा पनि बहस चल्न थाल्यो र महिलाअधिकार ज्वलन्त बहसको विषय बन्यो ।
महिला अधिकारको आन्दोलन सुरुमा श्रमसँग जोडिएकाले अन्तराष्ट्रिय महिला दिवसलाई पनि श्रमिकनारी दिवस भनियो । यो दिवस मनाउने निर्णय गर्नुपूर्व नै महिलाले आफ्नो श्रमसँग जोडेर अधिकारको लडाइँ सुरु गरिसकेका थिए । पछि दिवस मनाउने निर्णय पनि श्रमिक महिलाहरूलेनै गरेका थिए । सन् २०१० मा क्लारा जेट्किन रोजालग्लेम्बर्गको अगुवाइमा कोपेनहेगनमा भएको श्रमिकमहिलाको दोस्रो अन्तराष्ट्रिय सम्मेलनले यो दिवस मनाउने निर्णय गरेको थियो । १७ देशका एक सय बढी महिला सहभागिता रहेको त्यो सम्मेलनमा दिवस सम्बन्धी प्रस्ताव सर्वसम्मत पारित भएको थियो ।
८ मार्चलाई अन्तराष्ट्रिय नारी दिवसको रुपमा मनाउने उद्घोषसँगै विश्वभरका महिलामा उत्साहको सञ्चार मात्र भएन, यसले चेतना स्तर वृद्धिमा पनि ठूलो फड्को मा¥यो । यसपछि क्षेत्रीय, उपक्षेत्रीय र अन्तराष्ट्रिय स्तरमा महिला आन्दोलन विस्तार भयो ।
नारी दिवसको नारा — नारामै सिमित
आज भन्दा १०८ वर्ष अगाडि श्रमिक महिलाको अवस्था जस्तो थियो, अहिले पनि त्यस्तै छ । स्थितिमा अपेक्षाकृत सुधार भने आएको छैन भन्न हिच्किच्याउनु पर्दैन । बरु महिला शोषणका स्वरुपमा भने परिवर्तन आएको छ ।
नेपालमा पनि महिलाको अवस्था दयनीय छ । त्यसमा पनि झन् घरमा काम गर्ने महिला त पारिश्रमिक विनाका श्रमिक भएका छन् । चुलो चौको महिलाको पर्यायवाची बनेको छ । चुलोचौकोको कामलाई कामका रुपमा बुझ्ने गरिएको छैन । आर्थिक मन्दीले नागरिकको गाँस, बास, कपास तथा रोजगारी, स्वास्थको सवाल छायाँमा परेको छ । यसको पहिलो मारमा महिला पर्दै आएका छन् । कालोबजारीले सम्पूर्ण उपभोग्य सामाग्रीको मूल्यवृद्धि भएको छ । यसबाट चुलोचौकोका महिला सधैँ कुनै न कुनै प्रकारको तनाव खेप्न बाध्य छन् । श्रम पुरुष भन्दा महिलाले बढी गर्छन् । तर श्रमको गणना पुरुषको हुन्छ महिलाको हुन्न । पुरुष परिवारको सञ्चालक कहलिन्छ महिलाचाहिँ गृहिणी (हाउस वाइफ) कहलिन्छे । त्यसैले यस्तो विभेदकारी संरचनामा परिवर्तन गर्न राज्य, समाज सबै एकजुट हुनु आवश्यक छ ।
नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । सो हकमा प्रत्येक महिलालाई भेदभाव विना वंशीय हक हुनेछ भनी व्यवस्था गरेको छ ।
साथै प्रत्येक महिलालाई सुरक्षित मातृत्व प्रजनन स्वास्थ्य सम्बन्धी हक प्रदान गरेको छ । महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनी व्यवस्था गरेको छ ।
सो हकमा महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ भनी व्यवस्था गरेको छ । संविधानले मौलिक हकमै महिला सम्बन्धी हकको व्यवस्था गरे पनि तीन वर्ष भित्र कानून बनाएर कार्यान्वयन गर्ने भनिएका कारण सो हकको महिलाले प्रभावकारी रुपमा कार्यान्वयन भएको छैन ।
अहिले पनि नेपाली महिला बोक्सीको आरोपमा कुटिएका छन् । महिला तथा नाबालिका बलात्कृत भएका छन् । घरेलु हिंसा न्यूनीकरण अझै प्रभावकारी रुपमा हुन सकेको छैन । त्यसरी हेर्दा कानून भएको अनुभूति महिलाले गर्न पाएका छैनन् । महिलाका लागि बनेको कानून भए पनि कार्यान्वयन गर्ने निकायको कमजोर कार्यशैलीका कारण महिला पीडामा छन् ।
हिजोआज यस्ता घटनाहरु नसुनिएको कुनै दिननै छैन भन्दा पनि हुन्छ । यो हाम्रो लागि त नराम्रो कुरा हो नै यति मात्र नभएर विश्वमा पनि नेपालको नाम, शान माथि प्रश्न उठ्ने र बदनाम गर्ने विषय पनि हो । नेपाली समाजमा अझै लैंगिक समानता कायम गर्न, लंैगिक हिंसा अन्त्य गर्न थुप्रै बाँकी छ । जसको मार अझै महिलाहरूले खेपिरहेका छन् ।
यो समस्याले उनीहरूको मानसिक तथा भौतिक विकासमा समेत कति असर पर्छ भन्ने कतिपयलाई हेक्का नै छैन । अझै कतिपय व्यक्तिमा त ‘छोरा’नभई नहुने भन्ने पुरातन सोंचले मनसपटलमा घर नै बनाएको छ ।
वर्षमा एक दिन अन्तराष्ट्रिय नारी दिवस मनाउने अनि ३६४ दिन फेरि चुपचाप बस्ने कारणले पनि यो सबै कुरामा मात्र सीमित हुन पुगेको छ । अझै पनि दिनँहु जसो पत्रपत्रिका, टिभी या रेडियोका समाचारहरुमा महिला माथीको हिंसाका खबरहरु तारन्तार आउने गर्दछ । फलाना ठाँउमा दाईजो नल्याएको झोँकमा यसो भयो रे ? बोक्सीको आरोपमा यसो गरियो रे अनि बालिकामाथी जबरजस्ती यसो गरियो भन्ने समाचारहरुले मुटु चिर्दछ । नेपालमा मात्र नभई संसारका धेरै विकसित देशहरुमा पनि महिला हिंसा र असमानताका ध्वनीहरु सुनिन्छ ।
सवैमा सकारात्मक सोचको आवश्यकता
हाम्रा कर्महरू र कर्मका फल हाम्रै सोचका परिणाम हुन् । महिलाले सधैं आफू अपहेलित भएको, पछाडि पारिएको, अवसर नदिइएको जस्ता नकारात्मक कुराको रट लगाइ रहनु भन्दा हिजोको अवस्थाबाट आजको अवस्था सम्म आइपुग्दा भएका सकारात्मक परिवर्तनहरूलाई हेर्नुपर्छ । आज शिक्षा, स्वास्थ्य, नोकरी अथवा सबै क्षेत्रको सहभागिता हेर्दा कसैले आरक्षण नदिए पनि आफैंमा सशक्त र सक्षमताका साथ उत्तरदायित्व निर्वाह गर्न सक्नेहरूको संख्या बढ्दैछ ।
घरमा छोरा र छोरी भनेर गरिने भेदभाव कम हुँदै गएको छ । सबैलाई शिक्षा भन्ने नारा सहित छोरीहरू शिक्षित हुँदै जाने परम्पराको विकास भएको छ । महिलाले आफूलाई महिलाकै अस्तित्वमा राख्नुपर्छ । महिलाले किन पुरुष जस्तो हुनुपर्छ र ? महिला र पुरुषको आफ्नै आकर्षण र अस्तित्वले त यो संसार सुन्दर एवं आकर्षक भएको छ ।
“हाम्रो समाजमा पनि छोरा र छोरीको विच धेरै भेदभाव गरिन्छ, यो छोराले गर्ने काम, छोरा भनेको आँटी हुनपर्छ अनि छोरी पराईको घर जाने जात, छोरी भएर पनि बोल्ने बानी नराम्रो आदि जस्ता हाम्रो आफ्नै व्यवहार अनि भनाइहरु नै महिला विरुद्धको हिंसाको प्रारम्भिक रुप हो, जुन हाम्रो मानसपटलमा जरा गाडेर बसेको छ ।” छोरी होस् या छोरा समाज (परिवार) अनि राष्ट्रले समान ब्यवहार नगरे सम्म महिला हिंसा विरूद्धको अभियान सफल हुने वाला छैन । महिला हिंसाका कथाहरु अनि ब्यथाहरु धेरैजसो गुपचुप अनि अभिब्यक्त नै नभएर हराउँदछन् । खासगरी नेपाल सरकारले महिला पुरुष कानुन तः समान र सक्षम छन, तपाई माथी कुनै पनि प्रकारका हिंसा भएका छन् भने सम्बन्धित निकायमा खबर गरेर न्याय पाउन सक्नुहुनेछ । हिंसालाई सहनु अथवा भोगेर केहि नबोल्नु भनेको हिसालाई प्रश्रय दिनु नै हो जुन राम्रो कदापी हुन सक्दैन । महिला हिंसा भन्ने वित्तिकै हामी हिंस्रक पुरुषलाई देख्छौँ तर महिला हिंसामा महिलाहरुकै भूमीका पनि उत्तिकै रहन्छ, बुहारी तह लाउने सासुदेखि भाउजु तह लाउने नन्द सम्म, छोरी तह लाउने आमा देखि छात्रा तह लाउने शिक्षिका सम्मअझै हाम्रो समाजमा छ्यापछ्याप्ती पाईन्छन् । महिलाहरु सवंय पनि महिला हिंसा विरुद्ध सजग रहन जरुरी छ है ।
१०९ औं अन्तराष्ट्रिय नारी दिवसको शुभकामना देशभित्र रहेका र विश्वभरिका नारीहरुलाई !!!
-शान्ता श्रेष्ठ (अध्यक्ष)
सन्चारिका समुह जिल्ला शाखा रामेछाप